
लमजुङ — १६ पुस २०७८
लमजुङ , बुधबार दिनभरको हिमपात मनाङको चामेमा २ फिटसम्म पर्यो । जमेको हिउँले बाटो नै रोकिएपछि खुलाउन सुरक्षाकर्मी बिहीबार दिनभर लागिपरे । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समूह हिउँमा हेलिएर केहीले हातैले खोस्रन थाले । नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार हिमपात रोकिएपछि हाम्रो पहिलो प्राथमिकता बाटो खन्नेमा रह्यो । ‘बुट सबैका थिए, कालो चस्मा र पञ्जा धेरैका थिएनन् । गैंची र बेल्चा पनि सबैले पाउने कुरा भएन । बाटोको हिउँ हातैले पनि फालियो’ उनले भने । मनाङमा भीषण हिमपातपछि यातायात सेवा ठप्प छ । हिउँ जमेपछि आवतजावतमा पनि कठिनाइ परेको छ । सशस्त्र प्रहरी बलका डीएसपी अर्जुन पौडेलका अनुसार बिहीबार बिहान ५ बजेदेखि हिमपात रोकिएको छ । दिउँसोसम्म सरकारी कार्यालय क्षेत्रबाट तल्लो बजारसम्मको सडक र पैदलमार्गको हिउँ पन्छाइएको उनले बताए ।
सुरक्षाकर्मीले लमजुङ हिमाल जाने बाटोदेखि कारागारसम्मको बाटो, सशस्त्र प्रहरी क्याम्पदेखि लोकप्रिय माविसम्मको बाटो, माथिल्लो मनाङ जाने पुल, चामेको ठाडो बाटो, झोलुंगे पुल र बजारभित्रको नमस्ते गेटसम्मको हिउ हटाएको हो । सुरक्षाको तीनवटै निकाय मिलेर करिब ५ किलोमिटर बाटो तथा सडकको हिउँ हटाएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नागरिकलाई सरकारी सेवा लिन तथा अत्यावश्यक काममा आवतजावत गर्ने कामलाई सहज बनाउन बाटो र सडकको हिउँ फाल्न सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले बिहीबार दिनभरि घाम लागे पनि हिउँ नपग्लिएको बताए ।
‘हामीले सरकारी कार्यालय रहेको माडा क्षेत्र, बजार क्षेत्र झर्ने बाटो र चामे बजारको मुख्य सडकको हिउँ फाल्यौं । यहाँ हिँड्न र मोटर चल्न अब समस्या भएन,’ उनले भने, ‘अन्य ठाउँमा भने बन्द छ ।’ माथिल्लो मनाङको सडक चामेदेखि नै बन्द रहेको उनले बताए । उनका अनुसार तल्लो क्षेत्र धारापानीमा समेत आधादेखि १ फिटसम्म हिउँ जमेको छ । सदरमुकाम चामे तथा आसपासका क्षेत्रमा २ फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङ र नार्पाभूमिमा ३ फिटसम्म हिउँ छ । ‘मौसममा सुधार आएको छ । अब हामी हिउँ फाल्न लाग्छौं’ उनले भने । उनले तल्लो क्षेत्रबाट हिउँ फाल्न डोजर प्रयोग गर्ने तयारी गरिएको बताए । ‘हामी सुरक्षाकर्मीसँग हिउँ फाल्नका लागि सबै किसिमको औजार छैन । हातले खोस्रेर, बेल्चा र गैंचीले सबै हिउँ फाल्न पनि सकिादैन’ उनले भने, ‘डोजर प्रयोग गर्नुपर्छ । यसका लागि चामे गाउँपालिका र सडक विभागलाई भनेको छु ।’
( कान्तिपुर दैनिक )
