
रुकुम पूर्व — १६ पुस २०७८
रुकुम पूर्व, दुई दिनसम्म निरन्तर परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ र बागलुङको सिमाना पातिहाल्न र त्यस आसपास परेको हिउँले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडकमै एक फिटभन्दा बढी हिउँ जमेको छ । हिउँका कारण सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम दुवैतर्फबाट आएका सवारी साधन गन्तव्यतर्फ जान नपाई आएकै स्थानतर्फ फर्किएका प्रहरीले जनाएको छ । उक्त सडक प्रयोग गर्ने अन्य सवारी साधनले पनि वैकल्पिकसडक प्रयोग गरिरहेका छन् । विशेष गरी पोखरा, काठमाडौं जाने र उताबाट फर्किने सवारी साधनलाई हिउँले छेकेको छ । स्थानीय लहरमाया गुरुङले सडकमाथि भारी हिमपात परेको बताइन् । ‘विगतका वर्षमा जस्तै यस वर्ष पनि सवारी रोकिने गरी हिमपात भयो,’ उनले भनिन्, ‘केही दिन त यो हिउँ रहन्छ नै ।
त्यसैले अब वैकल्पिक बाटो रोज्नुपर्ने हुन्छ ।’ सडक वरिपरि घना जंगल भएकाले यो हिउँ छिट्टै नपग्लने उनले बताइन् । मंगलबार साँझदेखि र बुधबार रातिसम्म त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । बुधबार बिहानैबाट रुकुम पूर्वबाट काठमाडौंसहित देशका विभिन्न ठाउँका लागि गाडीहरू छुट्न नसकेको यातायात व्यवसायी बताउँछन् । हिउँदयाममा भारी हिमपात हुने भएका कारण केही महिना मध्यपहाडी लोकमार्ग अनियमित हुने गरेको छ । मध्यपहाही लोक मार्ग हुँदै रुकुम पूर्वबाट देशका विभिन्न ठाउँमा जाने गाडी चल्छन् । रुकुम पश्चिमबाट समेत राजधानी काठमाडौं, पोखरा लगायतका ठाउँमा पुग्न यो मार्ग भएर छोटो पर्ने भएकाले दैनिक ठूलो संख्यामा यातायातका साधन आउजाउ गर्ने गर्छन् । तर, हिमपातका कारण लोकमार्ग अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् ।
हिमपात जारी रहेकाले लोकमार्ग कहिले सञ्चालन हुन्छ भन्न नसकिने सिस्ने हिमाल यातायात प्रालिका नागेन्द्र पुनले बताए । जिल्लाका रुकुमकोट, काँक्रीबाट हरेक दिन काठमाडौंका लागि बस छुट्ने गरेका थिए । त्यसैगरी रुकुम पश्चिमबाट एउटा रात्रिबस काठमाडौं जाने गरेको थियो । अरु थुप्रै साना गाडी पनि यो बाटो भएर गुड्थे । पछिल्लो केही समयदेखि रोल्पाको थबाङबाट पनि यही बाटो भएर काठमाडौंका लागि गाडी छुट्ने गरेको थियो भने काठमाडौंबाट पनि एउटा बस थबाङका लागि आउने गरेको थियो । हिमपातले यो बाटो भएर काठमाडौं आउजाउ गर्ने थवाङीलाई पनि रोकेको छ ।
( कान्तिपुर दैनिक )
