Fast Nepal News

कर्णालीका ५ जिल्लामा अक्सिजन प्लान्ट जडान भएन

banner single news

वीरेन्द्रनगर — १३ पुस २०७८

वीरेन्द्रनगर , कर्णाली प्रदेशका ५ जिल्लामा अझै अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र सल्यानमा अक्सिजन प्लान्ट जडान हुन नसकेको हो । कालीकोट, दैलेख र जाजरकोटमा प्लान्ट जडान भई सञ्चालनमा आएको छ भने राजधानी सुर्खेतमा प्लान्ट बने पनि सञ्चालनमा आइसकेको छैन । प्रदेश सरकारले प्रदेशका १० जिल्लामध्ये गत आर्थिक वर्षमा ८ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाख रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानमा खरिद गरिएका अक्सिजन प्लान्ट नभएर अक्सिजन सिस्टम जेनेरेटर भएको खुलेपछि जडानको काम रोकिएको हो । अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दासमेत परेको छ । जिल्ला अस्पताल डोल्पामा अक्सिजन सिलिन्डर नै खरिद गरी काम चलाइएको छ । डोल्पाका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले गत वर्षको बजेटले खरिद गरेको प्लान्टमा विवाद आएपछि पुनः प्रक्रिया नचालिएको बताए ।

अक्सिजन प्लान्ट खरिदका लागि चालु आवमा बजेट आएपछि मात्रै खरिद प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । मुगुमा एक गैरसरकारी संस्थाको सहयोगमा अक्सिजन प्लान्ट जडान हुन लागेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम अधिकारीले बताए । उनका अनुसार करिब १ करोड रुपैयाँ लगानीमा एक दिनमा ४० वटासम्म सिलिन्डर भर्न सकिने अक्सिजन प्लान्ट जडान हुन लागेको हो । हुम्लामा पनि अक्सिजन अभाव छ । गत वर्ष प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँमा प्लान्ट खरिदका लागि कुनै कम्पनीले इच्छा देखाएनन् । स्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक प्रेमबहादुर सिंहले ढुवानी र प्लान्ट जडानको लागि बजेट नपुग्ने भएपछि रकम फ्रिज भएको बताए । ‘२ पटक टेन्डर आह्वान गर्दा पनि कोही आएन,’ उनले भने, ‘अहिले संघीय सरकारको बजेटबाट खरिद गरिएको मिनी प्लान्टले नै धानिरहेका छौं । यसबाट ५ वटा बेडमा मात्रै अक्सिजन पुग्छ ।’ चालु आवमा प्रदेश सरकारले १० लाख मात्र विनियोजन गरेको सिंहले जनाए ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालमा भने प्लान्ट स्थापनाको काम रोकिएको स्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । खरिद प्रक्रियामा अनियमितता भएपछि प्लान्ट खरिदको काम रोकिएको हो । प्लान्टका लागि संघीय सरकारले ७५ लाख बजेट दिएको थियो भने प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँ फ्रिज भएको थियो । कालीकोटमा गत असोजदेखि प्रदेश सरकारले पठाएको बजेटबाट प्लान्ट जडान भई सञ्चालनमा आएको छ । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार प्रतिदिन १० वटा सिलिन्डर भर्न सक्ने प्लान्ट जडान गरिएको हो । दैलेखमा पनि प्रतिदिन ४० सिलिन्डर भर्न सक्ने प्लान्ट गत भदौदेखि सञ्चालनमा आएको छ भने जाजरकोटमा मंसिरबाट प्लान्ट सञ्चालनमा छ ।

Inside Article Ads

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले प्लान्ट निर्माण गरे पनि सञ्चालनमा ल्याइएको छैन । उक्त प्लान्टले १ दिनमा १५० देखि १७० वटासम्म सिलिन्डर भर्न सक्नेछ । प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र चौधरी ग्रुपको लगानीमा उक्त प्लान्ट निर्माण गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा २ वटा अक्सिजन प्लान्ट जडान भए पनि नयाँ भवनमा सञ्चालन भइरहेको अक्सिजन प्लान्ट ट्रान्सफर्मर पड्किएर अहिले बन्द रहेको प्रवक्ता डा. विकास केसीले बताए । उनका अनुसार पुरानो भवनमा जडित प्लान्टले अहिले काम गरिरहेको छ । अस्पतालमा नयाँ अक्सिजन प्लान्ट पनि निर्माणको प्रक्रियामा छ । जुम्लामा १५ दिनभित्र १ दिनमा १ सय सिलिन्डर भर्न सक्ने प्लान्ट आइपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए । उनका अनुसार करिब २ करोड रुपैयाँ लगानीमा उक्त सिलिन्डर खरिद गरिएको हो ।

( कान्तिपुर दैनिक )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.