
वीरेन्द्रनगर — १३ पुस २०७८
वीरेन्द्रनगर , गत मंसिर १५ गतेदेखि बन्द रहेको सुर्खेत–दैलेख सडकखण्डमा आज (मंगलबार) देखि गाडी सञ्चालन हुने भएका छन् । सडकअन्तर्गत पर्ने दैलेखको गाईबान्नास्थित सडक फराकिलो बनाउनलाई चट्टान काट्नुपर्ने भन्दै बन्द गरिएको सडकमा नै वैकल्पिक सडकको प्रयोग गरी गाडी सञ्चालनको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । सडक स्तरोन्नतीको काम भइरहेकाले मंसिर दोस्रो सातादेखि सुर्खेत–दैलेख सडकखण्डमा ठूला गाडी सञ्चालनमा रोक लगाइएको थियो । यो रुटमा अब भने यात्रुबाहक सवारीसाधन गुड्ने व्यवस्था मिलाइएको हो । आजदेखि यात्रुबाहक साना गाडी चल्ने भएका हुन् । हाइस, फोर्सलगायतका गाडीलाई दुईतर्फी चल्न दिइने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
सबै सवारी साधन यही रूटमा चल्दा दूरी लामो पर्ने र भाडासमेत महँगो भएको गुनासो आएपछि साना सवारी साधन मर्मत हुँदै गरेको सडकखण्डबाटै सञ्चालन गर्ने विकल्प निकालिएको हो । प्रशासन कार्यालयले सडक डिभिजन सुर्खेतसँग समन्वय गरेर वैकल्पिक बाटो निकालिएको प्रजिअ प्याकुरेलले बताए । गुराँस गाउँपालिकाको गाईबान्नास्थित घाम ताप्ने भिरमा चट्टान काटेर सडक फराकिलो बनाउन लागिएको छ । भीरको चट्टान काट्ने काम ५० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । अहिले तीन मिटर मात्रै सडक चौडा रहेको यो भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सात मिटर चौडा सडक बनाइने छ ।
( कान्तिपुर दैनिक )
