Fast Nepal News

कर्णालीका डेढ लाख बालबालिकालाई खोप

banner single news

सुर्खेत — १२ पुस २०७८

सुर्खेत , कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा बालबालिकालाई आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पुस १४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइनेछ । ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिइएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । उनका अनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिन थालिएको हो ।

सुर्खेतमा भने यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिइएको छ । सल्यानका ३ सय विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ३० हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । उनका अनुसार त्रिवेणी गाउँपालिकाको लुहामस्थित सल्यान पब्लिक स्कुलबाट आइतबारदेखि खोप लगाउन सुरु गरिएको हो । खोप लगाएकी उक्त विद्यालयकी कक्षा ९ की छात्रा कमला शर्माले अब कोरोनाबाट सुरक्षित भएको बताइन् ।

Inside Article Ads

‘सुरुमा डर लागे पनि केही असर भएन,’ उनले भनिन्, ‘अब कोरोना लागे पनि खतराबाट बच्न सकिने भयो ।’ उनीसँगै कक्षा ९ मा अध्ययनरत पाण्डव केसीले बालबालिकाका लागि खोप ल्याएर सरकारले राम्रो काम गरेको बताए । ‘हामी पनि अब सुरक्षित भयौं,’ उनले भने, ‘केही गरी कोरोना लागिहाले पनि खासै ठूलो असर नहुने भयो ।’ कर्णालीका पहाडी जिल्लामा दक्ष स्वास्थ्यकर्मी र उपकरण अभावमा एकै पटक सबै स्थानीय तहमा खोप लगाउन भने समस्या छ । रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले १४ गतेसम्म सबै विद्यालयका बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.