Fast Nepal News

दोधारा चाँदनीमा नहरका लागि सर्भे

banner single news

काठमाडौँकञ्चनपुर — १२ पुस २०७८

काठमाडौँकञ्चनपुर , महाकाली सिंँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनीमा नहर निर्माणका लाग सर्भे भएको छ । आयोजना कार्यालयले यसै सातादेखि सर्भे सुरु गरेको हो । सर्भेको काम सकेर ठेक्का प्रक्रियामा जाने तयारी रहेको महाकाली सिँंचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले बताए । ‘यसै वर्षदेखि नहर निर्माण सुरु गरिनेछ,’ आयोजना निर्देशक बमले भने, ‘जमिन अधिग्रहण गरेर छिट्टै ठेक्का प्रक्रियामा जाने लक्ष्य छ ।’ उनका अनुसार दोधारा चाँदनीमा नहर निर्माणअन्तर्गत ३ करोड बजेट आएको छ । उक्त बजेटमध्ये जमिन अधिग्रहण, नदी नियन्त्रण र नहर निर्माणमा खर्च गरिनेछ । यसैगरी जोगबुढापारिको कञ्चभोजमा लिफ्ट सिंँचाइका लागि पनि १ करोड बजेट आएको छ । आयोजनाअन्तर्गत दोधारा चाँदनीमा १६ किलोमिटर मूल नहर निर्माण गरिनेछ । जसमध्ये ८ किलोमिटर यसअघि निर्माण भएको मलेरिया सिँचाइ आयोजनाकै संरचनामा नहर निर्माण गरिनेछ । यसका लागि जमिन अधिग्रहण गर्नुपर्ने छैन । बाँकी ७ किलोमिटर नहर निर्माणका लागि जमिन अधिग्रहण प्रक्रिया यसै वर्षदेखि सुरु गरिने बमले बताए । उनका अनुसार पहिलो ५ वर्षमा मूल नहर र दोस्रो ५ वर्षमा शाखा नहर निर्माण गरेर १० वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ ।

जमिन अधिग्रहण गर्नुपर्ने क्षेत्रमा स्थानीयले विरोध गरेका कारण केही समस्या देखिएको छ । थोरै जमिन भर्एका परिवार विस्थापित हुने भएकाले विरोध भएको हो । उनीहरूसंँग छलफल गरेर समस्या समाधानको प्रयास भइरहेको उनले बताए । एकीकृत महाकाली सन्धिअनुसार दोधारा चाँदनीमा सिँचाइका लागि शारदा नहरबाट पानी पाउने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार शारदा नहरदेखि नेपाल–भारत सीमासम्म ११ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्नेछ । शारदा नहरबाट नेपालले सिंँचाइका लागि १० क्युमेक पानी पाउनेछ । भारतीय पक्षलाई आफ्नो क्षेत्रमा नहर निर्माणका लागि दबाब दिनसमेत दोधारा चाँदनीमा नहर निर्माण सुरु गर्नुपरेको हो । यसअघि तेस्रो चरणअन्तर्गत ब्रह्मदेवदेखि निर्माणाधीन नहरमा पनि नेपाल–भारत सीमासम्म १२ सय मिटर भारतले नै निर्माण गर्नुपर्ने थियो । नेपालले नहर निर्माण सुरु गरेको झन्डै १४ वर्षपछि भारतले आफ्नो क्षेत्रमा काम सुरु गरेको हो ।

अहिले ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले नहर निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । दोधारा चाँदनीमा नहर निर्माणका लागि यसअघि २०१४ मा पनि सर्भे गरिएको थियो । त्यसयता सडक, पुललगायतका विभिन्न संरचनाहरू निर्माण भएका कारण पुनः सर्भे गर्नुपरेको आयोजना निर्देशक बमले बताए । २०१४ मा गरिएको सर्भेअनुसार १६ किलोमिटर मूल नहर र १४ किलोमिटर शाखा नहरहरू निर्माण हुनेछन् । उक्त नहरबाट दोधारा चाँदनीको ३ हजार हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्नेछ । उक्त सर्भे अनुसार दोधारा चाँदनीमा नहर निर्माणका लागि ६ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । ७ वर्षअघि गरिएको सर्भेमा नहरको दुवैतर्फ सडक निर्माण पनि गर्ने योजना थियो । तर दोधारा चाँदनीमा ७ वर्षयता थुप्रै सडकहरू निर्माण भइसकेकाले अब नहर निर्माणका लागि धैरै जमिन अधिग्रहण गर्नु नपर्ने भएको छ ।

Inside Article Ads

विगतमा नहर निर्माणका लागि ३० मिटर चौडाइमा जमिन अधिग्रहण गर्नुपर्ने थियो भने अब १५ मिटर मात्रै अधिग्रहण गर्नुपर्नेछ । महाकाली सिंँचाइ आयोजनाको नहरबाट सिँंचाइ सुविधा नपुग्ने जोगबुढा नदीपारिका बडुवाल टोल, कञ्चभोज, सुन्दर नगर र कुतियाकभरमा लिफ्टमार्फत सिंँचाइ सुविधा उपलब्ध गराइनेछ । उक्त आयोजनाबाट ५ सय हेक्टर जमिनमा सिंँचाइ पुग्नेछ । यसका लागि पहिलो चरणमा यसै वर्ष दोधारा चाँदनी नगरपालिका—७ को कञ्चभोजमा लिफ्ट सिंँचाइ योजना सुरु गरिनेछ । उक्त योजनाबाट कञ्चभोजमा २ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । आयोजनाअन्तर्गत ब्रह्मदेव क्षेत्रमा पनि शाखा नहर निर्माणको प्रक्रिया सुरु भएको छ । ब्रह्मदेवदेखि २८ किलोमिटर क्षेत्रमा २२ वटा शाखा निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको आयोजना निर्देशक बमले बताए ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.