
अछाम — १२ पुस २०७८
अछाम , करिब एक दशक अघिसम्म अछामी विवाह, व्रतबन्ध, न्वारनको पहिचान थियो पञ्चेबाजा, हुड्के र रतेडी (देउडा) । तर, समय र पुस्ता परिवर्तनसंँगै यी चलन पनि लोप हुन थालेका छन् । सहरिया बिहेको सिको ग्रामिण भेगसम्म परेको छ । गाउँभरिका महिला जम्मा भएर विहेवारी, व्रतबन्ध र न्वारनमा रतेडी खेल्ने र दमाईं जातिको पहिचान बोकेको दमाहासहितको टोलीले बाजा बजाएर बिहेको रौनक दिन्थे । अहिले न त महिला बिहेबारीमा रतेडी खेल्छन् । न त दमाहाका बाजा नै बज्छन् । उमेरले ९० वर्ष पूरा भएकी अछामको मंगलसेन नगरपालिका–५ की गोमा ढुंगाना पहिले र अहिलेका बिहेमा धेरै अन्तर पाउँछिन् । उनको विवाह ७ वर्षको उमेरमा बिहे भएको थियो । उनलाई आफ्नै बिहे पनि याद छैन । ‘म बुझ्ने भएदेखि गाउँमा विवाह हुँदा हुड्के आउने, आधा बाटोसम्म केटीको घरबाट आएको जन्तलाई दमाहा बजाएर बाजागाजाका साथ लिन जान्थे’ उनले तीन–चार दशक अगाडिको बिहे गर्ने चलन सम्झँदै भनिन्, ‘एकातिर पञ्चेबाजाको रौनक, अर्कोतिर गाउँभरिका महिलाले रतेडी खेलेको रमाइलोले दुई/तिन दिनसम्म गाउँमा नै बिहे भएको जनाउ दिन्थ्यो ।’
अहिले भने विवाह भड्किलो हुने खर्च धेरै हुने गरेको छ । पुराना चालचलन सबै हराएको उनको भनाइ छ । गाउँमा पहिलेजस्तो विवाह हुन छोडेको धेरै भयो । बिहेको घरमा निम्तो दिँदा महिला अहिले पनि आउँछन् । ‘पुराना महिलाहरू रतेडी खेल्न खोज्छन् । तर अहिलेका केटाकेटीलाई त्यो मन पर्दैन । बजारका गीतहरू ठूलो आवाजमा लगाएर नाच्छन्’ उनले भनिन्, ‘हामीलाई त त्यस्तो मन पर्दैन । बिहेको चलन त पुरानै निको थियो, अहिलेका बिहे त हामीलाई बिहेजस्तै लाग्दैनन् ।’ कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा बाजा बज्थे । त्यही चाडपर्वमा बाजा बजाएर गुजारा चल्थ्यो मंगलसेन नगरपालिका–५ का लक्षे दमाईंको । आधुनिकतासँगै मनोरञ्जन अन्य साधनको प्रयोग बढेपछि उनले बाजा बजाउन पाएका छैनन् । केही वर्षयता भने पुराना मौलिक बाजाहरू कतै सुनिँदैनन् ।
( कान्तिपुर दैनिक )
