Fast Nepal News

हरायो रतेडी र मौलिक बाजा

banner single news

अछाम — १२ पुस २०७८

अछाम , करिब एक दशक अघिसम्म अछामी विवाह, व्रतबन्ध, न्वारनको पहिचान थियो पञ्चेबाजा, हुड्के र रतेडी (देउडा) । तर, समय र पुस्ता परिवर्तनसंँगै यी चलन पनि लोप हुन थालेका छन् । सहरिया बिहेको सिको ग्रामिण भेगसम्म परेको छ । गाउँभरिका महिला जम्मा भएर विहेवारी, व्रतबन्ध र न्वारनमा रतेडी खेल्ने र दमाईं जातिको पहिचान बोकेको दमाहासहितको टोलीले बाजा बजाएर बिहेको रौनक दिन्थे । अहिले न त महिला बिहेबारीमा रतेडी खेल्छन् । न त दमाहाका बाजा नै बज्छन् । उमेरले ९० वर्ष पूरा भएकी अछामको मंगलसेन नगरपालिका–५ की गोमा ढुंगाना पहिले र अहिलेका बिहेमा धेरै अन्तर पाउँछिन् । उनको विवाह ७ वर्षको उमेरमा बिहे भएको थियो । उनलाई आफ्नै बिहे पनि याद छैन । ‘म बुझ्ने भएदेखि गाउँमा विवाह हुँदा हुड्के आउने, आधा बाटोसम्म केटीको घरबाट आएको जन्तलाई दमाहा बजाएर बाजागाजाका साथ लिन जान्थे’ उनले तीन–चार दशक अगाडिको बिहे गर्ने चलन सम्झँदै भनिन्, ‘एकातिर पञ्चेबाजाको रौनक, अर्कोतिर गाउँभरिका महिलाले रतेडी खेलेको रमाइलोले दुई/तिन दिनसम्म गाउँमा नै बिहे भएको जनाउ दिन्थ्यो ।’

अहिले भने विवाह भड्किलो हुने खर्च धेरै हुने गरेको छ । पुराना चालचलन सबै हराएको उनको भनाइ छ । गाउँमा पहिलेजस्तो विवाह हुन छोडेको धेरै भयो । बिहेको घरमा निम्तो दिँदा महिला अहिले पनि आउँछन् । ‘पुराना महिलाहरू रतेडी खेल्न खोज्छन् । तर अहिलेका केटाकेटीलाई त्यो मन पर्दैन । बजारका गीतहरू ठूलो आवाजमा लगाएर नाच्छन्’ उनले भनिन्, ‘हामीलाई त त्यस्तो मन पर्दैन । बिहेको चलन त पुरानै निको थियो, अहिलेका बिहे त हामीलाई बिहेजस्तै लाग्दैनन् ।’ कुनै समय थियो, हरेक चाडपर्व र उत्सवमा बाजा बज्थे । त्यही चाडपर्वमा बाजा बजाएर गुजारा चल्थ्यो मंगलसेन नगरपालिका–५ का लक्षे दमाईंको । आधुनिकतासँगै मनोरञ्जन अन्य साधनको प्रयोग बढेपछि उनले बाजा बजाउन पाएका छैनन् । केही वर्षयता भने पुराना मौलिक बाजाहरू कतै सुनिँदैनन् ।

Inside Article Ads
बिहेवारी र चाडबाडमा समेत पञ्चेबाजा बजाउन छोडिएको छ । नयाँ पुस्ताले चासो नदिएपछि पञ्चेबाजाको ध्वनि सुनिन छाडेको लक्षेको भनाइ छ । ‘अहिले अधिकांश गाउँघरमा युवा छैनन् । सबैजसो रोजगारीको लागि ठूला सहर र विदेशतिर छन् । उनीहरूलाई उताकै प्रभाव पर्छ र उही शैलीमा रमाउन खोज्छन्’ लक्षेले भने, ‘एकातिर पुरानो चलन लोप भयो अर्कातिर हाम्रो व्यवसाय पनि सकियो ।’ मंगलसेन नगरपालिका–५ का काले दमाईं पनि पञ्चेबाजाको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गर्छन् । ‘आधुनिक प्रविधि भित्रिएसँगै गाउँमा पञ्चेबाजा बजाउनै छोडियो,’ उनी भन्छन्, ‘अहिले गाउँमा न बाजा भेटिन्छन्, न त बजाउनेहरू नै ।’ पञ्चेबाजा बजाउने समुदायले पछिल्लो समय आधुनिक बाजा बजाउने तथा अन्य पेसा अँगाल्ने गरेका छन् । पुरानो चिनारीका रूपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने उनले बताए । बाजा बजाएको ज्याला नपाउने समस्याले पनि बाजा बजाउनेहरूले पेसा परिवर्तन गर्दै गएको उनले सुनाए ।
उनका अनुसार पाँच वटा बाजाको समूहलाई पञ्चे बाजा भनिन्छ । नयाँ पुस्तामा बाजाको रुचि हराउँदै गएको छ । परम्परागत बाजा बजाउनेहरू व्यावसायिक बन्न नसक्दा बाजा नै लोप हुने अवस्थामा पुगेका छन् । केही दशकअधिसम्म पञ्चेबाजा भन्नेबित्तिकै बालबालिकादेखि वृद्धवृद्धा सबै हुरुक्कै हुन्थे । बढ्दो आधुनिकताले पञ्चेबाजा घन्किनै छोडे । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्छन् । पञ्चेबाजा धार्मिक तथा सामाजिक उत्सव, विवाह, व्रतबन्ध, चाडबाड र जात्रा–मेला सबैतिर बजाइन्थ्यो । मंगलसेन नगरपालिका–५ का ७५ वर्षीय उदयराम सुवेदीका अनुसार विगतमा विवाहमा अनिवार्यजस्तै थियो, पञ्चेबाजा । ‘पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो, तल्लो माथिल्लो गाउँका मानिस हेर्न र सुन्न ओइरो लाग्थे’ उनले भने, ‘अहिलेका बिहेमा न रतेडी छ न त बाजा नै ।’ पञ्चेबाजा व्यावसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको सुवेदीको भनाइ छ । नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम तथा कर्णाली प्रदेशको ख्याति प्राप्त नौमती बाजा पनि लोप हुँदै गएको उनको भनाइ छ ।               

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.