
गोरखा — १२ पुस २०७८
गोरखा , गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध भएका छन् । अध्यक्षमा श्रेष्ठको एकल उम्मेदवारी परेको हो । उनी यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । व्यवसाय प्रवर्द्धन र व्यवसायीको हकहितको संरक्षण आफ्नो प्राथमिकता रहेको उनले बताए । जिल्लाको अर्थतन्त्र सुधार गर्न कृषि र पर्यटनलाई प्राथमिकता दिने उनको योजना छ । अध्यक्षसहित चार पदाधिकारी र दुई सदस्यमा एकल उम्मेदवारी परेको थियो ।
वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी निर्विरोध चुनिएका निर्वाचन समिति संयोजक स्थानेश्वर दवाडीले बताए । उनका अनुसार महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ र रामहरी केसीको उम्मेदवारी परेको छ । सचिवमा काजीराम श्रेष्ठ र चन्दनबाबु खत्रीले उम्मेदवारी दिएका छन् । त्यस्तै, खुलातर्फ ७ सदस्य पदमा १२ जना चुनावी प्रतिस्पर्धामा छन् । मतदान कार्यक्रम आइतबारबाट सुरु हुनेछ । हरेक ३ वर्षमा हुने अधिवेशन कोरोना महामारीले १० महिनापछि धकेलिएको थियो ।
( कान्तिपुर दैनिक )
