
काठमाडौँ — १२ पुस २०७८
काठमाडौँ , विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज गर्दै राष्ट्रिय पाठ्यक्रम पारूप २०७६ अनुरूप नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गरेको हो । निर्देशिकाअनुसार अब कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरे मात्र माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छ । सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त नगरे ग्रेडसिटमा ‘नट ग्रेडिङ’ (एनजी) उल्लेख गरिनेछ । यस्ता विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन पाउने छैनन् भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर दिइने भएको छ ।
यसअघि सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ गरिन्थ्यो । ९ वटा तहमा विद्यार्थीको ग्रेडिङलाई वर्गीकरण हुन्थ्यो । तर अब ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिनेछ । उत्तरपुस्तिका अंकका आधारमा नै परीक्षण हुनेछ । अब ३५ प्रतिशतभन्दा कम अंक ल्याए ग्रेडिङ पद्धतिमा नै समावेश नहुने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । विज्ञहरूको सुझावका आधारमा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न ‘बेञ्च मार्क’ सहितको लेटर ग्रेडिङ पद्धति लागू गर्न खोजिएको उनको भनाइ छ । ग्रेडिङमा ‘एनजी’ तहमा परेका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न चाहे ग्रेड वृद्धि परीक्षा दिनुपर्ने उनले बताए । यसअघि प्रयोगात्मकको नम्बर जोडेर ३२ प्रतिशत अंक ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा पढ्न पाउँथे । एनजी तहमा परेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाए पनि प्राविधिक टी–एसईई अध्ययनबाट भने वञ्चित हुने छैनन् ।
( कान्तिपुर दैनिक )
