
दार्चुला — ११ पुस २०७८
दार्चुला , दार्चुलाको नौगाड गाउँपालिकामा निजी क्षेत्रको लगानीबाट साढे १६ मेगावाट विद्युत् उत्पादन भएको छ । तर, उक्त गाउँपालिकाका स्थानीयले भने अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपभोग गर्न पाएका छैनन् । नौगाड खोलाको पानी प्रयोग गरी ५ वर्ष अगाडि अपी हाइड्रोपावर कम्पनीले साढे ८ मेगावाटको विद्युत् उत्पादन सुरु गरेको थियो । नौगाड गाउँपालिका–६ धुलीगडाबाट विद्युत् निकाल्न पेनस्टक पाइपबाट पानी लगिए पनि उक्त क्षेत्रका स्थानीयले राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न नपाएको धुलीगडाका स्थानीय अर्जुनसिंह धामीले बताए । सरकारले प्रसारण लाइन निर्माण नगरेकै कारण जिल्लामै उत्पादन भएको बिजुली यहाँका स्थानीयले उपभोग गर्न पाएका छैनन् । त्यस्तै, दार्चुलाको राष्ट्रिय प्रसारण लाइन नजोडिएको अपीहिमाल गाउँपालिका–५ मकरीगाडमा निजी क्षेत्रको लगानीबाट १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने तयारी भएको छ । तर उक्त क्षेत्रमा पनि सरकारले राष्ट्रिय प्रसारण पुगाउन नसक्दा आफ्नै ठाउँमा उत्पादन भएको बिजुली स्थानीयले उपभोग गर्न नपाइएको अपीहिमालका स्थानीय मानसिह रोकायाले बताए ।
स्थानीय जनप्रतिनिधिहरू आफू निर्वाचित भएको समयदेखि पहाडबाट तराई झर्दा र संघीय राजधानी काठमाडौं पुग्दा नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय र केन्द्रीय कार्यालयमा गएर राष्ट्रिय प्रसारण लाईन निर्माणका लागि ध्यानाकर्षण गराएको लिखित पत्रसहित सामाजिक संजालमा पोष्ट्याएका छन् । उनीहरू निर्वाचित भएको ४ बर्ष बढी भइसक्यो, अहिलेसम्म विद्युत् उपभोग गर्न नपाएको गुनासो छ । जिल्लाका दुई स्थानीय तहबाहेकमा राष्ट्रिय प्रसारण लाइन निर्माण भएको विद्युत् प्राधिकरणले जनाए पनि यहाँका ६० प्रतिशत नागरिक अहिलेसम्म अन्धाकारमै बस्न बाध्य भएका छन् ।नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको दार्चुला वितरण केन्द्रका अनुसार जिल्लाका करिब २७ हजार घरधुरीमध्ये ११ हजार ५ सय घरधुरिमा मात्र राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलामा ७ स्थानीय तहका धेरैजसो ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पुगेको विद्युत ्प्राधिकरण कार्यालय दार्चुलाका सूचना अधिकारी शंकर स्वाँरले बताए ।
( कान्तिपुर दैनिक )
