
तनहुँ — ११ पुस २०७८
तनहुँ , चुनपहराको संरक्षणको लागि बन्दीपुर गाउँपालिका–४ विमलनगरमा महोत्सवसहितको रक क्लाइम्बिङ प्रतियोगिता सुरु गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेनको बनाउने क्रममा चुन पहरा कटानी गर्नुपर्छ । रक क्लाइम्बिङको हब नासिने खतरा बढेपछि उक्त पहराको संरक्षणका लागि महोत्सव नै आयोजना गरिएको हो । गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु प्रतियोगिता पुस १२ सम्म हुने छ । पृथ्वी राजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्काइने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चुनपहरा संरक्षण समितिका संयोजक एंव सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए । उनले भने, ‘साहसिक खेलको हवको रूपमा रहेको चुनपहाराको अस्तित्व मेटाउनु हुँदैन । यो स्थल नेपालकै उत्कृष्ट रक क्लाइम्बिङको प्रशिक्षण केन्द्रका रूपमा विकास भैसकेको छ ।’
मापदण्डनुसार सडकको मध्यविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर विस्तार गर्नका लागि चिह्न लगाउने काम भइसकेको छ ।
राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको पृथ्वी राजमार्ग विस्तार अति आवश्यक रहेको भए पनि सडकसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । ‘पहराको संरक्षणका लागि गाउँपालिकाले पनि सम्बन्धित निकायमा पहल गर्दै आएको छ,’ उनले भने, ‘चुनपहरामा थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको छ । साहसिक पर्यटनको केन्द्रका रूपमा रहेको यस ठाउँमा थप पूर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गराउने हाम्रो लक्ष्य छ ।’ चुनपहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्ये एक हो । राजमार्गसँगै जोडिएको यस ठाउँमा देश विदेशबाट पर्यटक चट्टान आरोहणका लागि आउने गर्छन् ।
२०६४ सालमा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर उक्त क्षेत्रको अन्वेषण गरेका हुन् । त्यसपश्चात् क्रमबद्ध रूपमा यससँग सम्बन्धित संघसंस्था तथा निकायले यस क्षेत्रमा आरोहण गतिविधि बढाउनुका साथै व्यवस्थापन गर्दै आएका छन् । उक्त प्रतियोगितामा एक सयभन्दा बढी पर्वतारोहण गाइडको सहभागिता छ । चट्टान चढनेका बीचमा प्रतियोगिता समेत गरेको आयोजकले महिला र पुरुषका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
( कान्तिपुर दैनिक )
