
बर्दिया — ११ पुस २०७८
बर्दिया , बर्दियाको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको अभाव हुँदा सेवा प्रभावित भएको छ । १५ जनाको स्थायी दरबन्दी भए पनि एक जना विशेषज्ञ, चार जना मेडिकल अधिकृत र एक डेन्टल चिकित्सक मात्र छन् । लामो समयदेखि यस अस्पतालले विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको छ । सुगमका स्थायी दरबन्दीका डाक्टर आउन नचाहेकाले अभाव भएको अस्पताल स्रोतले बताएको छ । चिकित्सक दरबन्दीअनुसार नभएपछि करारका मेडिकल अधिकृत पाँच र विशेषज्ञ तीन जनामात्रै बिरामीको उपचारमा संलग्न छन् । स्थायी दरबन्दीका विशेषज्ञसहितका चिकित्सक नहुँदा बिरामीलाई उपचारमा समस्या भएको हो । जटिल खालका बिरामी बाध्य भई उपचारका लागि नेपालगन्ज, कोहलपुर र भारतका विभिन्न सहरमा जाने गरेका छन् । दक्ष चिकित्सक र उपकरण पूरा गर्न सके जटिल खालका बिरामी उपचारका लागि बाहिर जाने अवस्था रोकिने अस्पताल विकास समितिका अध्यक्ष अंगतमान श्रेष्ठले बताए ।
अस्पतालमा जाडोयाममा पनि बहिरंग सेवामा दैनिक १ सय ५० देखि २ सय बिरामी उपचारका लागि आउने गर्छन् । त्यसै गरी इमरजेन्सी सेवामा दैनिक २५ देखि ३० जनासम्म बिरामी आउने गरेको डा. विश्वनाथ साहले जनाए । अस्पतालका सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले तेस्रो चरणको कोरोना संक्रमण ओमिक्रोनका लागि १० जना मेडिकल अधिकृत र २५ जना स्टाफ नर्सको आवश्यकता रहेको बताए । ‘५० जनाभन्दा बढी कोरोनाका बिरामी थपिए थप जनशक्ति चाहिन्छ,’ उनले भने, ‘आवश्यक तयारी नगरे समस्या हुनेछ ।’ अस्पताल हाताभित्र कोरोनाका बिरामीका लागि बनाइएको २५ शय्याको भवन लामो सयमदेखि गुलरिया नगरपालिकाले हस्तान्तरण गरेको छैन ।
४ लाख ८१ हजार जनसंख्या रहेको जिल्लाको एक मात्र अस्पतालमा विशेषज्ञलगायतका चिकित्सकको दरबन्दी अपुरो रहेको स्वास्थ्यकर्मीले गुनासो पोखे । यसैबीच, लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये न्यूनतम मापदण्ड र सम्पादनका आधारमा यस वर्ष पनि यो अस्पताल प्रथम भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मूल्यांकनका आधारमा प्रथम भएको हो । २०७६/०७७ मा पनि बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै प्रथम अस्पताल भएको थियो । थोरै चिकित्सकबाट बिरामीको राम्रो उपचारलगायत भौतिक संरचना निर्माण गरेकाले दुई वर्षयता लगातार मूल्यांकनको आधारमा प्रथम भएको बताइन्छ । तर, चिकित्सक र उपकरण भने स्वास्थ्य सेवा विभागले उपलब्ध गराउन सकेको छैन ।
( कान्तिपुर दैनिक )
