
महोत्तरी — ११ पुस २०७८
महोत्तरी , सात वर्षसम्म जग्गाको मुआब्जा टुंगो नलाग्दा रोकिएको बिजलपुरा–बर्दिबास खण्डको रेलवेको काम बल्ल अघि बढेको छ । सरकारले मुआब्जा निर्धारण गरेपछि बर्दिबासमा रेलवे र नापी कार्यालयले जग्गा छुट्याउने काम थालेका छन् । जग्गाको मुआब्जा टुंगो नलाग्दा ७ वर्षपहिले गरिएको सर्भेको सेन्ट्रल लाइन नै मेटिइसकेकाले पुनः लाइन खोज्नेबाटै काम थालिएको रेलवेको प्राविधिक टोलीले जनाएको छ । मुआब्जामा कुरा नमिल्दा र लामो समय रेलवेले जग्गा नलिँदा कतिपय जग्गाधनीले सिमाना मेटाउने र किला उखेल्ने गरेका थिए । त्यसैले सिमाना र किला केही नभेटिएपछि प्राविधिक टोलीले सुरुबाटै काम गर्नुपरेको जयनगर–जनकपुर रेल कार्यालयका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए । बर्दिबासमा रेलवेका २ वटा सेन्ट्रल प्वाइन्ट नभेटिएको र पत्ता लगाउने काम भइरहेको ओझाले बताए । सेन्ट्रल लाइन भेटिएपछि दायाँबायाँ कति जग्गा लाग्छ र क–कसको जग्गा कति पर्छ भनेर छुट्याइने उनको भनाइ छ । भंगाहा, किसाननगर र आदर्श बेगाडाबरको काम सकिइसकेकाले अबको दुई साताभित्र बर्दिबासमा पनि जग्गा छुट्याउने काम सकिने उनले जानकारी दिए ।
सरकारले मुआब्जा नबढाउने निर्णय गरेपछि बर्दिबासवासी जग्गाको तोकिएकै मुआब्जा लिन तयार भएका छन् । सरकारले तोकेको मुआब्जामा आफूहरूको असन्तुष्टि रहे पनि अब समयमै मुआब्जा वितरण गरी काम अघि बढाओस् भन्ने पक्षमा आफूहरू रहेको बर्दिबास–१४ का जन्नुलाल महतोले बताए । जयनगर–बर्दिबास ६९ किलोमिटर रेलवे निर्माणको काम मुआब्जा विवादले बिजलपुरा स्टेसनको भंगाहामै रोकिएको थियो । केही महिनाभित्रै मुआब्जा वितरण सकेर बिजलपुराबाट बर्दिबासतर्फको काम सुरु गरिने नेपाल रेलवे कम्पनीले जनाएको छ । बर्दिबासबाट भंगाहातर्फ मुआब्जामा समस्या नरहे पनि बर्दिबासको मुआब्जा विवादले काम अघि बढेको थिएन । जयनगर–बर्दिबास रेलवेको लिक र जयनगर–बर्दिबास तथा पूर्व–पश्चिम रेलमार्गको साझा स्टेसन रहेको बर्दिबासको करिब ५९ बिघा जग्गाका डेढ सय घरपरिवारलाई मात्रै सरकारले २ अर्ब ३० करोड बराबर मुआब्जा वितरण गर्नेछ । अब मुआब्जा वितरण सकेर रेलवेको काम अघि बढाइने र चार वर्षभित्रै बर्दिबासमा रेल आउने गरी रेलवे निर्माण गरिने इन्जिनियर ओझाले बताए ।
( कान्तिपुर दैनिक )
