Fast Nepal News

१२ वर्षमा पनि काम नसकिएपछि हुलाकी राजमार्गमा समय थपिँदै

banner single news

काठमाडौँ — ७ पुस २०७८

काठमाडौँ , गौरवको आयोजनाका रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको म्याद दुई वर्ष थपिने भएको छ । १२ वर्षमा पनि निर्माण नसकिएपछि आयोजनाको म्याद थप्न लागिएको हो । डेढ वर्ष समय बाँकी भए पनि उक्त समयमा काम नसकिने देखिएको आयोजनाले जनाएको छ । यसअनुसार आयोजनाको म्याद आर्थिक वर्ष २०८१/८२ सम्म पुर्‍याइनेछ । काम ढिलाइ हुनुको मुख्य कारण कोभिडको प्रभाव रहेको आयोजनाको दाबी छ । आयोजनाको भौतिक प्रगति अहिलेसम्म ६८ दशमलव ५ प्रतिशत छ । अझै ३२ प्रतिशत निर्माणको काम बाँकी छ । आर्थिक वर्ष २०६६/६७ बाट निर्माण थालिएको राजमार्गको काम २०७९/८० भित्र काम सक्नुपर्ने हो । कोभिडकै कारण निर्माणको समय दुई वर्ष पछि धकेलिएको आयोजनाका निर्देशक धर्मेन्द्रकुमार झाले बताए । ‘कोभिडको समयमा काम गर्न पाइएन,’ उनले भने, ‘त्यसैले आयोजनाको पुनरावलोकन गर्दा दुई वर्ष समय थप्नुपर्ने देखियो ।’ केही पुलको ठेक्का तोडेर नयाँ गरिँदै छ । निकुञ्ज क्षेत्रको सडक निर्माण अझै बाँकी छ, तिनमा ठेक्का हुन नसकेको उनले जानकारी दिए ।

२ सय ५० पुलमध्ये १ सय बनिसकेका छन् । १४ वटा पुल चालु आर्थिक वर्षमा निर्माण सकिने उनको भनाइ छ । केहीको ठेक्का प्रक्रिया जारी छ । ‘६५ वटा पुलको ठेक्का गर्न बाँकी छ,’ उनले भने, ‘सबैभन्दा ठूलो पुल सर्लाही र रौतहट जोड्ने हो ।’ केही स्थानमा सुरुमा पुल बनाउन लागिएको भए पनि खोलाले धार बदलेपछि पुल बनाउने ठाउँ पनि परिवर्तन गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । चितवनको गोलाघाटस्थित नारायणी नदीमा बनाउन लागिएको पुलको पुरानो ठेक्का तोडिसकिएकाले नयाँ कहाँबाट बनाउने भन्नेबारे निर्णय भइनसकेको उनको भनाइ छ । उक्त राजमार्गअन्तर्गत नै पर्ने कमला नदीको पुल बर्खामा भत्किएकाले ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले नै बनाउनेछ ।

यसको ठेक्का लुम्बिनी–पप्पु जेभिले लिएको र उसले नै आफ्नै खर्चमा प्रतिस्थापन गर्नुपर्ने निर्देशक झाले बताए । राजमार्गको दूरी १८५७ दशमलव ४२ किमि छ । यसमध्ये ८८२ दशमलव ४२ किमि सहायकमार्ग पर्छ । अहिलेसम्म करिब ८ सय किमि सडक मात्र निर्माण भएको छ । डेढ सय किमि सडक चालु आर्थिक वर्षमा निर्माण भइसक्ने उनको दाबी छ । चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डमा सडक निर्माण हुन सकेको छैन  सबैतिर गरेर ३ सय किमि सडकको ठेक्का निकाल्न बाँकी रहेको र अन्य सडकको ठेक्का भएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको पाँच महिना बित्दा दुई अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाको भनाइ छ । ‘चालु आर्थिक वर्षमा विनियोजित रकमभन्दा बढी काम हुनेछ,’ झाले भने ।

Inside Article Ads

आयोजनाको लागत अनुमान ६५ अर्ब २० करोड रुपैयाँ छ । भारतीय अनुदानतर्फ ८ अर्ब रुपैयाँ र बाँकी ५७ अर्ब नेपाल सरकारको रहने आयोजनाले जनाएको छ । अहिलेसम्म निर्माणमा भारतीय अनुदानतर्फ ६ अर्ब ७० करोडसहित ४५ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । भारतीय अनुदानतर्फ भएका १४ ठेक्कामध्ये १० वटाको निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । चार वटाको निर्माण जारी रहेको आयोजनाले बताएको छ । सुरुमा भारत सरकारबाट सञ्चालित आयोजनामा उतैबाट निर्माण व्यवसायी र कन्सल्टेन्ट आएर काम गरेका थिए । तर भारतीय निर्माण व्यवसायी काम अलपत्र पारेर हिँडेपछि ढाँचा परिवर्तन गरिएको थियो । उक्त राजमार्ग तराईका २० वटा जिल्ला भएर जान्छ । यो राजमार्गबाट ८० लाख जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजनाले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.