
रुकुम पूर्व — ७ पुस २०७८
रुकुम पूर्व, तरवरास्थित सानीभेरी नदीमाथि मोटरेबल पुल सञ्चालनमा आएको छ । पुलले सिस्ने गाउँपालिकाका ३ देखि ६ सम्मका वडा एकापसमा र ३ र ४ वडा गाउँपालिकाको केन्द्र रुकुमकोटसँग जोडिएका छन् । झन्डै ७ करोड रुपैयाँमा पुल निर्माण भएको हो । ‘पुलले हामीलाई रुकुमकोटसँग त जोडेको छ नै,’ सिस्ने गाउँपालिका–३ को जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक कलु खड्काले भने, ‘यो पुलले पश्चिमतिर भएर डोल्पा र पूर्वतिर भएर पोखरा, काठमाडौंसम्मलाई पनि नजिक बनाइदिएको छ ।’ लामो र पटक–पटकको ताकेतापछि यो पुल निर्माण सम्पन्न भएको थियो । पुलले घाँस–दाउरा गर्ने तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा पनि ठूलो सहजता ल्याइदिएको प्रअ खड्काले बताए । त्यस क्षेत्रको आसपासमा सानीभेरी नदीमाथि बनेको यो पुल नै पहिलो मोटरबेल पुल हो । केही वर्षअघि मात्रै यो पुलको तलतिर झोलुंगे पुल बनाइएको थियो । सर्वसाधारण त्यही झोलुंगे पुलमार्फत पैदल र मोटरसाइकल वारपार गर्थे । सानीभेरी नदीकै कारण धेरै मान्छे गाउँपालिका केन्द्र पुग्न रुकुम पश्चिमको सदरमुकाम भएर जानुपर्थ्यो ।
पूर्वको बाग्लुङ, पोखरा हुँदै काठमाडौं पुग्ने रुट नै अर्को हुन्थ्यो । यसले गर्दा सर्वसाधारणले लामो, महँगो र पट्यारलाग्दो यात्रा गर्थे । अब भने त्यो समस्या टरेको छ । पुलले धेरै ठाउँलाई जोड्ने भएको छ । झण्डै तीन महिनादेखि यो पुलमा सवारी साधन गुडिरहेका छन् । रुकुमकोट क्षेत्रबाट पुल तरेर आएपछि रुकुम पश्चिमको बाँफीकोट, आठबीसकोट हुँदै चिसापानीबाट ठूलीभेरी तरेर जाजरकोट–डोल्पा सडक भएर डोल्पा जान धेरै सहज भएको छ । डोल्पा, रुकुम पश्चिमका सर्वसाधारण मध्यपहाडी लोकमार्ग भएर पोखरा हुँदै काठमाडौं जान पनि अब सानीभेरी नदीले छेक्ने छैन । यही पुल तरेर रुकुमकोट पुगेर मध्यपहाडी लोकमार्ग भएर सर्वसाधारण सजिलै बाग्लुङ, पोखरा, काठमाडौं र अर्को क्षेत्रबाट बुटवल जान सजिलो भएको छ । पुरानो बाटो भएर काठमाडौं जानु र यो पुल बनेपछि पूर्वको बाटो भएर काठमाडौं जाँदा यो बाटो १ सय किलोमिटर छोटो भएको छ ।
पुलले लाइफलाइन क्लियर गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालको बुझाइ छ । पुल सिस्ने गाउँपालिकालाई जोड्ने मात्रै उद्देश्यभन्दा पनि धेरै क्षेत्र समेट्ने गरी बनाइएको उनले बताइन् । ‘मध्यपहाडी भएर यात्रा गर्ने पर्यटकहरू जो डोल्पासम्म पुग्न चाहन्छन्, यही पुलले छिटो र सहज भएको छ,’ उनले भनिन्, ‘पर्यटकीय क्षेत्र बागलुङको ढोरपाटन तथा पोखरा पुग्न पनि यो पुल उपयोगी बनेको छ ।’ सानीभेरीपारिबाट पुल तरेपछिको आधा घण्टा पहिल्यै मध्यपहाडी लोक मार्ग भेटिन्छ । मध्यपहाडी भएर पूर्व–पश्चिम गर्नमा पनि पुलबाटै जोडिन्छ, यसैले पनि यो पुलले सामान्य दुई गाउँ मात्रै जोडेको छैन धेरै क्षेत्र जोडेको अध्यक्ष बरालले बताइन् ।
( कान्तिपुर दैनिक )
