
वीरेन्द्रनगर — ७ पुस २०७८
वीरेन्द्रनगर , कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि पुस १४ गते र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइने बताए । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर खोपको पहिलो मात्रा दिइएको छ । सल्यान संवाददाताका अनुसार सल्यानका झन्डै ५ सय विद्यालयमध्ये ३ सय विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका ३० हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरिएको छ । कोरोनाको उच्च जोखिममा पर्दै आएका विद्यालयका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।
त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा रहेको सल्यान पब्लिक स्कुलबाट आइतबारदेखि खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । उनका अनुसार विद्यालयका १ सय १२ विद्यार्थीलाई खोप लगाइएको छ । सोमबार र मंगलबार शारदा नगरपालिकाको त्रिज मावि लुहापिङ र शिवजन मावि शीतलपाटीका बालबालिकालाई खोप लगाउने काम जारी छ । दक्ष स्वास्थ्यकर्मी र उपकरण अभावमा एकै पटक जिल्लाका १० पालिकामा खोप लगाउन सुरु गर्न नसके पनि १४ गतेसम्म सबै विद्यालयका बालबालिकालाई खोप लगाइसक्ने उनले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि ३० हजार डोज मोडर्ना खोप आएको छ । पहिलो चरणको खोप लगाएको २८ दिनपछि दोस्रो चरणको खोप लगाइने श्रेष्ठले बताए ।
उनका अनुसार मागका आधारमा स्थानीय तहहरूमा खोप पठाउने व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय सल्यानको तथ्यांकअनुसार हालसम्म भेरोसेल, कोभिडसिल्ड र जोन्सन एन्ड जोन्सन गरी ६० प्रतिशतले पहिलो चरणमा र ३५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । यता, सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार अभियानको मिति तय भएपछि पुनः सूचना सार्वजनिक गरिनेछ । तर स्वास्थ्यकर्मीहरूको तालिम भने पूर्वसूचनाअनुसार नै हुने उनले जानकारी दिए । कर्णालीका अन्य ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ ।
( कान्तिपुर दैनिक )
