Fast Nepal News

जहिल्यै खानेपानीको पिरलो

banner single news

सल्यान —  ६ पुस २०७८

सल्यान , कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरु हुन्छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् । गाउँ नजिकैका मुहान सुकेपछि दुई घण्टा हिँडेर खोल्साखाल्सीमा जमेको पानी ल्याउनुपर्ने बाध्यता स्थानीयलाई छ । अहिले ४ गाउँका करिब २ सय परिवार खानेपानीको अभाव भोग्न बाध्य भएको स्थानीय कमला घर्तीले बताइन् । उनका अनुसार एक महिनाअघिसम्म भक्काने मूलबाट पानी ल्याउनुपरेकोमा अहिले कोछट्टे खोलामा पुग्नुपर्ने बाध्यता भएको बताइन् । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्छ,’ उनले भनिन्, ‘वर्षौंदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने अवस्था छ ।’ उनले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताइन् । डाँडामा बस्ती भएकोले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको टोटकेकी कमला ओलीले गुनासो गरिन् । वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती भोग्दै आएको उनको भनाइ छ । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’

उनका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालन गर्न पनि समस्या भएको उनले बताइन् । स्थानीय अगुवा कमल विकका अनुसार वर्षायामबाहेकका ६ महिना खानेपानीको समस्या भोग्नुपर्छ । ‘वर्षातको समयमा सुकेका मूल जाग्छन् र टाढा जानु पर्दैन,’ उनले भने, ‘मंसिर लाग्नेबित्तिकै मुहान सुकेपछि सबै वडामा पानीको हाहाकार हुने गरेको छ ।’ हिउँदयामभरि खानेपानी समस्या भोग्नुपर्ने भएपछि बर्सेनि कम्तीमा १ दर्जन परिवारले बसाइँ सर्ने गरेको स्थानीय हस्ता ओलीले बताइन् । ‘बिहानै उठेर सौर्यटुकीको भरमा पानी लिन जाँदा शारीरिक समस्या त छँदै छ, पछिल्लो समयमा जंगली जनावरको पनि डर त्यत्तिकै छ,’ उनले भनिन्, ‘साथीबिना पानी लिन जान सकिँदैन । पानीको हाहाकार बढ्दै गएपछि बिहान र बेलुकीको खाना अनिश्चित बनेको छ ।’ पानीको समस्याका कारण बालबालिकाको पढाइ पनि प्रभावित बनेको उनले सुनाइन् । गाउँका अधिकांश पुरुषहरू मजदुरी गर्न खाडी मुलुक र भारतका विभिन्न ठाउँमा गएकाले पानी ओसार्ने काम महिला र बालबालिकाकै भएको उनको भनाइ छ ।

Inside Article Ads

बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल पूरा गर्छौं भन्ने गरे पनि जितेपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ । कालिमाटी गाउँपालिका–२ का अध्यक्ष इन्द्रबहादुर ओलीले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न समस्या भएको बताए । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’ कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बजेटकै समस्याका कारण ४ बस्तीका बासिन्दा लामो समयदेखि खानेपानीका लागि विभिन्न सास्ती भोग्न बाध्य भएको जनाए । उनका अनुसार ४ वटै गाउँमा खानेपानी पुर्‍याउन कम्तीमा ५ करोड रुपैयाँको लिफ्ट खानेपानी योजना सञ्चालन गर्न आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘अब त यो समस्या समाधान हाम्रो काबुमै छैन ।’ 

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.