Fast Nepal News

विद्यालय बगाएपछि चौरमा पढाइ

banner single news

बैतडी —  ६ पुस २०७८

बैतडी , सिरेटो निरन्तर चलिरहन्छ । घाम पनि केही घण्टा मात्रै लाग्छ । पुसको कठ्याङ्ग्रिँदो जाडोमा बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरू खोलाछेउको चौरमा बसेर पढ्न बाध्य छन् । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछिको पहिरोले विद्यालय भवन भत्काएपछि अहिले भवन अभावमा बालबालिका चिसो चौरमा बसेर पढ्न बाध्य भएका हुन् । ‘पहिरोले आठकोठे ३ वटा भवन सबै ध्वस्त पार्‍यो,’ प्रधानाध्यापक निर्मला चन्दले भनिन्, ‘हामी अहिले धेरै समस्यामा परेका छौं । अन्त पठनपाठन गराउने ठाउँ नै छैन । खोलाको बगरमा लगेर पढाइरहेका छौं ।’ चिसोले गर्दा विद्यार्थीहरू बिरामी भइरहेको उनले सुनाइन् । निमोनिया, रुघाखोकी र ज्वरोले विद्यार्थीलाई सताउने गरेको उनले बताइन् । ‘पहिलेको विद्यालय क्षेत्रभन्दा १ किलोमिटर टाढा लगेर विद्यार्थी पढाइरहेका छौं,’ उनले भनिन्, ‘अन्त ठाउँ नै छैन । बबनखेत खोलाको छेउमै चौरमा राखेर विद्यालय सञ्चालन गरेका छौं ।’ अहिलेसम्म कुनै ठाउँबाट पनि विद्यालय पुनर्निर्माणका लागि कुनै पहल नभएको उनले गुनासो गरिन् । ‘बादल लागेर चिसो बढेको दिन झन् धेरै समस्या झेल्नुपर्छ । पानी परेको दिन विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ,’ उनले भनिन् । पहिरोले विद्यालयका सबै कागजात नष्ट गरेको उनले सुनाइन् ।

पञ्चेश्वर–२ मा रहेको भरकोटी आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बनाइदिएको दुईकोठे भवन बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक झुपरसिंह मंगोलाले बताए । ‘विद्यार्थीहरूलाई कहिले चौरमा त कहिले दुईवटा कक्षाका विद्यार्थीलाई एकै कक्षामा राखेर पढाइरहेका छौं,’ उनले भने, ‘यसरी पढाउँदा कसरी गुणस्तर कायम हुन्छ र ?’ सिगास गाउँपालिका–७ बोरीस्थित भगवती आधारभूत विद्यालय पनि पहिरोले बगाएको छ । पहिलेको विद्यालय भएको स्थानबाट करिब २ सय मिटर पर गाउँपालिकाको सहयोगमा काठ र टिनले बारेर बनाइएको टहरामा विद्यार्थी पढ्न बाध्य छन् । टिनको टहरामा पढाउँदा विद्यार्थी र शिक्षक सबैलाई चिसो लाग्ने गरेको प्रधानाध्यापक भीमबहादुर बोहराले बताए । ‘पानी पर्दा चुहिने, हावाहुरीले पनि असर गर्ने । अहिले त चिसो बढेर पढाउन साह्रै सकस छ,’ उनले भने, ‘खानेपानी र शौचालयको पनि समस्या छ ।’

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका अनुसार जिल्लाका ७ वटा विद्यालयमा बेमौसमी वर्षापछिको बाढी र पहिरोले क्षति पुर्‍याएको छ । सिगास गाउँपालिकाको एक विद्यालय र पञ्चेश्वर गाउँपालिकाको एक विद्यालयको कुनै नामोनिसान छैन । अन्य विद्यालयमा आंशिक क्षति पुगेको रिपोर्ट प्राप्त भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताए । ‘क्षतिको विवरणबारे हामीले माथिल्लो निकायमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर विद्यालय व्यवस्थापन अहिले स्थानीय तहअन्तर्गत पर्ने भएकाले त्यहींबाटै प्रभावकारी कदम चालिनुपर्छ ।’ स्थानीय तहहरू भने २ महिनासम्म पनि निर्माण त परको कुरा, पठनपाठनका लागि चौर र टहराको विकल्प खोजीमै रुमलिरहेका छन् ।
Inside Article Ads

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट छिट्टै विद्यालय भवन निर्माण थालिने बताउँछिन् । ‘गाउँपालिकासँग पर्याप्त बजेट छैन, प्रदेश र संघ सरकारसँग माग गरेअनुसार केही रकम आएको छ । अब छिट्टै निर्माण थाल्छौं ।’ त्यतिन्जेलसम्मका लागि चौरको विकल्प खोजिरहेको उनको भनाइ थियो ।

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.