Fast Nepal News

सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो : माइकसहित मूलगेटमा नाराबाजी नगर्नू

banner single news

काठमाडौँ —  ६ पुस २०७८

काठमाडौँ , सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिए । सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठले बताए । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए । ‘जबसम्म प्रधानन्यायाधीशको राजीनामा आउँदैन हाम्रो आन्दोलन जारी रहन्छ,’ कान्तिपुरसँगको कुराकानीमा श्रेष्ठले भने, ‘बैठकबाट अर्को निर्णय नभएसम्म निरन्तर आन्दोलन जारी रहन्छ हामीले भनेका छौं ।’ आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने पनि उनले बताए ।

उनले भने, ‘न्याय प्रशासन चलाउन पनि नसक्ने र छोड्न पनि नसक्ने अवस्थामा हामीले आन्दोलन जारी राख्छौँ । दलहरूले पनि महाअभियोगका लागि पहल गरेको हुनुपर्छ । उनीहरूले पनि हुँदैन भनेको अवस्था त छैन ।’ सर्वोच्च प्रशासनले पहिले पनि प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोजेको उनको भनाइ छ । सर्वोच्च अदालतमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ । सर्वोच्चको गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि सफल भएको छैन । न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.