Fast Nepal News

सप्तरंगमा झुम्यो सुर्खेत

banner single news

सुर्खेत — ५ पुस २०७८

सुर्खेत , सामाजिक विकास मन्त्रालय नजिकैको खुलामञ्चमा दर्शकहरू भरिभराउ थिए । वीरेन्द्रनगरको मंगलगढी चोकबाट कलाकारसहित स्थानीय वेशभूषा सजिएकाको बाजागाजासहितको र्‍याली जब खुलामञ्च प्रवेश गर्‍यो, दर्शकको गड्गडाहट तालीले कलाकारहरू हौसिए । सुरुमा गाउन मञ्चमा उक्लिइन् गायिका अस्मिता अधिकारी । पहिलोपल्ट सुर्खेत आएकी उनले कर्णालीको सुन्दरता र जीवनशैलीबाट आफू मुग्ध भएको धारणा राखिन् । उनले ‘टाढा भए पनि,’ ‘तिम्रो मायाले बाँधेर राख,’ ‘रमरम मरौटी’ लगायत गीत गाइन् । ‘यो माया सधैं पाइराखूँ,’ मञ्चबाट झर्दै उनले भनिन्, ‘कर्णालीमा छिट्टै आउन मलाई तपाईंहरूको साथले हौस्याएको छ ।’ उनको प्रस्तुतिसँगै नेपाल प्रहरीका कलाकार र मोडेल उषा उप्रेतीको नाच पनि दर्शकको रोजाइमा पर्‍यो । गायक बद्री पंगेनीले ‘जनताको शासन,’ ‘रातो पछ्यौरी’ गाए भने एकता, भ्रातृत्व र पर्यटन प्रर्वद्धनका लागि सप्तरंगमा समावेश भएको बताए ।

‘सप्तरंगले हामीलाई एकआपसको संस्कृति साटासाट गर्न प्रेरित गरेको छ,’ उनले भने, ‘हामी जो जहाँ र जस्तो थाममा भए पनि नेपाली हौं ।’ कार्यक्रममा अर्की रुचाइएकी कलाकार परिन् गायिका मिलन नेवार । उनले ‘गाला रातै,’ ‘तिम्रो मन बदलिएछ,’ ‘मायाले रुमाल झिक्यो,’ ‘आसैको गुलेलीमा’ लगायत गीत गाइन् भने ‘फूलबुट्टे सारी’ गाएपछि दर्शकहरूले ‘वान्स मोर’ भन्दै धेरैबेरसम्म हुटिङ गरेका थिए । कलाकार प्रमोद खरेलले आपसी सद्भाव र ऐक्यबद्धताका लागि सप्तरंगसँग जोडिएको बताए । मञ्चमा उनको ‘इन्ट्री’ ले छिप्पिँदो रातलाई रोमान्टिक बनायो । ‘चाहिँदैन तिमीबिनाको,’ ‘ओइ झुमा,’ ‘यो भाग्यमा,’ ‘छुट्टिएर तिमीसँग,’ ‘बिजुलीको तार’ लगायत गीत गाएका खरेलले कुनैबेला गीतसंगीतमा जोडिन नचाहे पनि अब छुट्टिन गाह्रो भएको बताए । गायक रामकृष्ण ढकालको गीत सुन्न पनि दर्शकले लामो समय कुरे ।

Inside Article Ads

उनले कर्णाली आउँदा सधैं नयाँपन पाउने भन्दै सप्तरंगले आफूलाई स्थानीय संस्कृति र कला बुझ्न मद्दत गरेको बताए । उनले ‘छल गर्‍यो मायाले,’ ‘मलाई यो जिन्दगीले,’ ‘बाचा गर्नेको’ लगायत गीत सुनाए । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा ग्रीष्मा ब्रोर्डकास्टिङले सप्तरंग–३ को आयोजना गरेको थियो । कलाकारको सहकार्यमा सचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको स्थानीय आयोजक गणेशकञ्चन भारतीले बताए । उनका अनुसार २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु भएको कार्यक्रम पुस ९ मा पोखरामा पुगेर समापन हुनेछ । यसअघि जनकपुर, चितवन, नेपालगन्जमा कार्यक्रम भइसकेको छ भने सोमबार कलाकारहरूले धनगढीमा प्रस्तुति दिने भएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.