
गुल्मी — ५ पुस २०७८
गुल्मी , करिब एक महिनाअगाडि जिल्ला अस्पताल गुल्मीले आमा सुरक्षा कार्यक्रमका लागि भनेर चिकित्सकको आवेदन माग गर्यो । तर, आवेदनको समयावधि सकिँदासम्म पनि कुनै चिकित्सकले आवेदन दिएनन् । मासिक साढे २ लाख रुपैयाँ तलब सुविधा भएको उक्त पदका लागि आवेदन नपर्नुको एउटै कारण जिल्लामा यातायात सुविधा नहुनु भएको गुल्मी जिल्ला अस्पतालका प्रमुख डा. उत्तम पाच्याले बताए । ‘हामीले करिब एक महिनाअगाडि आमा सुरक्षा कार्यक्रमका लागि डाक्टर माग गर्यौं,’ उनले भने, ‘तर, कसैको पनि आवेदन परेन, यसो हुनुको कारण के हो त भनेर खोतल्दै जाँदा सडक यातायात लामो र अप्ठ्यारो भयो, हवाई यातायातको सुविधा भएन ।’ केही समय पहिले सहरी विकासमन्त्री एवं गुल्मेली नेतृ रामकुमारी झाँक्रीले जिल्लाका निजामती सेवामा कार्यरत कर्मचारीहरूसँग काठमाडौंमा अन्तर्त्रिया गरिन् । गुल्मेली अधिकृत समाजले समन्वय गरेको कार्यक्रममा धारणा राख्ने अधिकांश कर्मचारीले रेसुंगा विमानस्थल छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने बताएको परराष्ट्र मन्त्रालयका सहसचिव तेजबहादुर क्षत्रीले जानकारी दिए । उनले जिल्लाको विकासको मेरुदण्डका रूपमा रहेको रेसुंगा विमानस्थल सञ्चालनमा ढिलाइ हुँदा सबै क्षेत्र प्रभावित भएको बताए । पर्यटकीय सम्भावना बोकेको जिल्ला भए पनि यातायातको पहुँच सहज नहुँदा फड्को मार्न नसकेको उनको भनाइ छ ।
तर, परीक्षण उडान भएको तीन वर्ष बितिसक्दा पनि रेसुंगा विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । सिमीचौरमा रहेको विमानस्थलको निर्माण ‘कछुवा गति’मा छ । २०७५ जेठ २५ गते परीक्षण उडान सम्पन्न गरिएको विमानस्थलको निर्माण ढिलाइ हुनुमा चरण–चरणमा ठेक्का लगाउनुपर्ने र कोरोनाको असर मुख्य कारण भएको विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । ‘ठेक्का प्याकेज–प्याकेजमा भएको छ,’ उनले भने, ‘यो समयमा कोभिडको असर पनि पर्यो ।’ परियारले जुन गतिमा काम हुनुपर्ने हो त्यसरी काम हुन नसक्नुको कारण निर्माणको जिम्मा लिएको कम्पनीको ढिलासुस्ती रहेको बताए । विमानस्थलको धावनमार्ग रौताहा हरि–हरि जेभी निर्माण कम्पनीले गरिरहेको छ । ७ करोड ५ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीले व्यवसायी निर्माण बस्नेतलाई काम सम्पन्न गर्न पुनः ठेक्का दिएको थियो । बस्नेतले चाँडो काम नगरेपछि कम्पनीले अर्का निर्माण व्यवसायी दीपक पाण्डेलाई जिम्मा दिएको छ । नयाँलाई जिम्मेवारी दिएकाले छिटो काम हुने आशा पलाएको रेसुंगा–१० का वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए । उनले विमानस्थल निर्माणका लागि बजेटको कुनै कमी नभएको बताए ।
( कान्तिपुर दैनिक )
