
रोल्पा — ५ पुस २०७८
रोल्पा , प्यूठानबाट रोल्पा अस्पतालमा निमित्त कार्यालय प्रमुख भएर आएकी डा. सबु काफ्ले लामो समय कार्यालयबाहिर रहने गरेकी छन् । जेठमा सरुवा भएर आएकी उनी सात महिनामा अस्पतालमा ४० दिनमात्र हाजिर छन् । उनी कार्यालय र अस्पतालमा कम, जिल्लाबाहिर बढी बस्ने गरेको अस्पताल स्रोतले जनाएको छ । परीक्षामा सहभागी हुन र अन्य कामका लागि बिदा जान्छु भन्दै पटक–पटक जिल्ला छोड्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । तर, फर्केर आएपछि उनले पूरै अवधिको हाजिरी गर्ने गरेको कर्मचारीको दाबी छ । जिल्ला प्रशासनको छड्के टोली पुग्दा कार्यालयमा नभेटिएकी उनले पछि आएर पुनः हाजिरी गरेको पाइएको कर्मचारीले बताए । कर्मचारीलाई सरकारले नौ प्रकारका बिदा सुविधा दिने प्रावधान छ । तर, उनले ती बिदाको प्रयोग नगरी अर्कै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिई जिल्लाबाहिर जाने र आएपछि हाजिरी गर्ने गरेकी हुन् । सरकारले कर्मचारीलाई बिरामी, भैपरी, किरिया, घर, सुत्केरी, सट्टा, पर्व, असाधारण र अध्ययन बिदा दिन्छ । तर, उनले ती बिदा कम प्रयोग गर्दै अस्पतालकै काम देखाएर बाहिर जाने गरेकी छन् ।
‘जाँदा अर्कालाई मौखिक निमित्त दिने गरेको तर आएपछि फेरि हाजिरी गर्ने गरेको देख्दा हामी नै दंग छौं,’ अस्पतालका एक कर्मचारीले भने, ‘एकपटक प्रशासनले छड्के जाँच गरेको थियो, त्यसपछि पनि केही फरक परेन । त्यसपछि आएपछि उहाँले पहिलेजसरी हाजिरी नै गर्नु भएको छ ।’ यस विषयमा डा. सबुसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क नै हुन सकेन । उनका दुवै मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठेन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले आफूलाई प्रशासनिक कार्यबारे जानकारी नभएको बताए । डा. सबुको अनुपस्थितिमा डा. प्रकाशबहादुर बुढाले निमित्त कार्य गर्दै आएका छन् । अस्पताल प्रमुख हुन नवौं तहको कर्मचारी हुनुपर्नेमा प्रदेश सरकारले आठौं तहकी डा. सबुलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफ्नो कार्यालयले छड्के गरेका बेला डा. सबु कार्यालयमा नभएको जानकारी पाइएको बताए । ‘हाम्रो छड्केमा उहाँ कार्यालयमा नभएको पाइएको थियो तर थप जानकारी अन्य कर्मचारीले दिएका छैनन्,’ उनले भने, ‘थप विवरण हामी खोज्दै छौं ।’ डा. सबुले प्यूठानमा रहँदा पनि त्यस्तै गर्ने गरेको स्रोतले बतायो ।
( कान्तिपुर दैनिक )
