
पर्वत — ५ पुस २०७८
पर्वत सुन्तला, आलुलगायत कृषि उत्पादनलाई घरनजिकैको चिस्यान केन्द्र (कोल्डस्टोर) मा राखेर बेमौसममा बजार पठाउने इच्छा थियो, मोदी–२ का खेमबहादुर र बुद्धिकुमारी हमाललाई । छिट्टै कोल्डस्टोर निर्माण हुने आशा गाउँले र राजनीतिक अगुवाले देखाए । त्यही आशामा तीन बाली खेती हुने, सडकसँगै जोडिएको ७ आना खेत कोल्डस्टोरलाई दिने वाचा गरे । हमाल दम्पतीका लागि घरछेवैमा भएको समथर खेत बुढेसकालमा समेत खेती गरेर खाने एकमात्रै विकल्प थियो । तर खेतको उचित मूल्य पाइने र अन्य सुर्कासुर्कीमा उब्जाएको फसलसमेत भण्डारण गर्न पाइने, गाउँलेका लागिसमेत भलाइ हुने कुरा सबैले भनेपछि आफ्नो भविष्य र जग्गाले दिने नाफानोक्सान सबै बिर्सिएर कोल्डस्टोरका लागि जग्गा दिए । यो साढे ४ वर्षमा उनीहरूले न जग्गाको सम्झौताबमोजिमको मूल्य पाए, न त कोल्डस्टोर बनेर उपयोग गर्न नै । गतिलो खेती हुने एकमात्रै जग्गामा कंक्रिटको खण्डहर देख्दा दुवैको मन खिन्न हुन्छ । आर्थिक वर्ष ०७३/७४ मा प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालका विश्वासपात्र थिए, स्थानीय मनहरी तिमिल्सिना । उनै तिमिल्सिनाको पहलमा सुन्तला र आलुलाई बेसिजनमा बजारमा पठाउने गरी ५ करोड रुपैयाँ लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइयो । २ तलाको कोल्डस्टोर निर्माण योजना यसरी अलपत्र पर्छ भन्ने कसैले कल्पनासम्म पनि गरेका थिएनन् ।
हमाल दम्पतीका नाममा रहेको जग्गामा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भयो । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको ७ आना १ दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक लेखियो । २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गंगा तिमिल्सिनाको नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ । हमाल दम्पती दिन गन्दै बसे । तर त्यस्ता जेठ १५ अहिलेसम्म ४ वटा गइसके, न जग्गा पास भएको छ न रकम नै पाएका छन् । गंगा निर्माण समिति अध्यक्ष हुन् । कोल्डस्टोर अहिलेसम्म ठडिन सकेको छैन । श्रीमतीले हुँदैन भन्दाभन्दै दिएकोमा खेमबहादुर अहिले पश्चाताप गर्छन् । ‘उतिबेला श्रीमतीले कति बिन्ती गर्दा पनि मैले विकासका लागि त्याग गर्नुपर्छ भनेर दिएँ,’ खेमबहादुरले भने, ‘अहिले न धन भयो, न धान । यो फोरेर फाल म धान रोप्छु भन्दा पनि कसैले सुन्दैनन् । मलाई सबै मिलेर ठगे । अब कसलाई भन्न जाने ?’ स्थानीय सरोकारवालाले भने इस्टिमेटअनुसारको बजेट नआएका कारण भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउँछन् । निर्माण समिति अध्यक्ष तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो । तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम सरु गरिहाल्यौं,’ उनले भनिन्, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढेन । पैसा छिट्टै आउँछ भनेकाले कागज गरेर जग्गा लिने सम्झौता भएकै हो ।
योजनाअनुसारको भवन बनाउन बजेट माग्ने कोही भएनन् । हाम्रो दबाब पुगेन ।’ दुईतले कोल्डस्टोर निर्माणकार्य एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ । बनेको संरचना पनि अहिले खण्डहर बनेको छ । समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्थ्यो । ‘हामीले कौडीका भाउमा सुन्तला बेच्नुपरेको छ,’ स्थानीय दाताराम चापागाईं भन्छन्, ‘कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन–चैतमा डेढ सय रुपैयाँ किलोमा बिक्री हुन्थे ।’ देउपुर पर्वतकै सुन्तला पकेट क्षेत्रमा पर्छ । अहिले ३०–४० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके पाँच गुणासम्म बढी मूल्य पाइने आशामा किसान छन् । कोल्डस्टोर निर्माणका लागि स्थानीयले मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्मै गुहारेका छन् । तर अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।
गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले भने कोल्डस्टोर अन्तै बनाउने तयारी भएको बताए । २ वर्षअघिको गाउँसभाले कोल्डस्टोर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर उक्त स्थानमा जग्गा अपुग भएकोले अन्यत्र खोज्ने भनिए पनि काम हुन सकेको छैन । गाउँपालिका प्रवक्ता बिमल लामिछाने भने उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधासम्पन्न कोल्डस्टोर बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको बताउँछन् । ‘यो विषय बेलाबेला उठ्दै सेलाउँदै गरेको छ,’ उनले भने, ‘त्यसैलाई निरन्तरता दिँदा जग्गा कमी हुने, जग्गाधनीलाई पैसा दिनुपर्नेलगायत कुरा छन् । अन्यत्रै सार्वजनिक जग्गा खोजेर बनाउने छलफल चलेको छ । निर्णयमा पुगिएको छैन ।’ जिल्लाका किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत फसल पोखराका कोल्डस्टोरमा भण्डारण गर्न प्रतिक्विन्टल २ हजार रुपैयाँसम्म भाडा तिर्दै आएका छन् ।
( कान्तिपुर दैनिक )
