Fast Nepal News

भम्केनी धाममा नेपाल चिनाउने मूर्ति बन्दै

banner single news

कञ्चनपुर — ५ पुस २०७८

कञ्चनपुर , कञ्चनपुरको चुरे फेदीको सुनसान जंगल । विभिन्न मठ मन्दिर र धार्मिक संरचनाहरू । प्रायः सुनसान रहने भम्केनी धाम क्षेत्र विस्तारै गुल्जार हुन थालेको छ । जगतगुरु मोहनशरण देवाचार्यले यहाँ धार्मिक कार्य गर्न थालेपछि चहलपहल हुन थालेको हो । साविकका ७५ वटै जिल्ला चिनाउने ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणले साकार रूप लिन थालेपछि यसको महत्त्व अझै बढेको हो । भम्केती धाममा नेपाल आमाको मूर्ति बनाउने काम धुमधामका साथ चलिरहेको छ । यसका लागि सहयोग जुटाउन स्थानीय तहदेखि प्रदेश र संघीय सरकार सबैलाई आग्रह गरिएको छ । यहाँ विभिन्न क्षेत्रमा धार्मिक कार्यक्रमहरू पनि भइरहेका छन् । मूर्ति निर्माणकै लागि मंसिर २२ देखि १० दिवसीय धान्याञ्चल महायज्ञ पनि गरिएको छ । ‘यो राष्ट्रलाई जोड्ने अभियान हो, नेपाल आमाको मूर्ति हेर्न पुर्व झापादेखिका मानिसहरू यहाँ आउनेछन्,’ नेपाल आमाको मूर्ति निर्माणको अभियान सुरु गरेका जगतगुरु मोहनशरण देवाचार्यले भने, ‘पूर्वलाई पश्चिमसँग मूर्तिले जोड्नेछ, नेपाल बाहिर रहेका नेपालीहरूसमेत मूर्ति हेर्न यहाँ आउनेछन् ।’

पूर्व र पश्चिम सबै क्षेत्रका बासिन्दा तीर्थव्रतका लागि भारततर्फ जाने गरेका छन् । सुदूरपश्चिममा थुप्रै किसिमका तीर्थस्थलसँगै धार्मिक क्षेत्रहरू पनि छन् । तिनको महत्त्व बुझाउन सके आफैं समृद्धि आउने जगतगुरु देवाचार्यले बताए । ‘यो धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुनेछ,’ उनले भने, ‘पूर्वका जनतालाई पश्चिमसँग जोड्नेछ, यसले राष्ट्रियताको भावना विकास गर्नेछ ।’ मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनलाई १० करोड ८१ लाखमा ठेक्का दिइएको छ । यसका लागि अष्टधातु मूर्ति निर्माण समितिले उपलब्ध गराउनेछ भने निर्माणका लागि आवश्यक केमिकल कम्पनीले उपलब्ध गराउनेछ । २०७४ मा मूर्ति निर्माण सुरु भएको हो । ५ वर्षमा मूर्ति निर्माणको काम सक्ने लक्ष्य भएपछि कोरोना संक्रमणले १ वर्ष थपेर २०८० सम्म सक्ने निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनका मनोहर महर्जनले बताए । अहिलेसम्म मूर्ति निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ । मूर्तिको आसन कमलको फूल निर्माणको काम अन्तिम चरणमा पुगेको महर्जनले बताए । उनका अनुसार मूर्ति निर्माणका लागि २५ देखि ३० टनसम्म अष्टधातु आवश्यक पर्नेछ ।

Inside Article Ads

जगतगुरु मोहनशरण देवाचार्यले झन्डै ३ वर्षअघि (२०७२ वैशाखदेखि २०७४ माघसम्म) नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु संकलन भएका थिए । त्यसबाहेक ३ टन धातु स्थानीयले दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माणको काम भइरहेको हो । ‘अहिले पनि सुन, तामा र पित्तललगायतको धातु दान गर्नेहरू आइरहेका छन्,’ जगतगुरु देवाचार्यले भने, ‘महाकाली तटको शारदापीठलाई पवित्र धार्मिकस्थल निर्माण गर्ने मेरो चाहना हो, यसका साथै राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने इच्छा हो ।’ उनले मूर्ति निर्माणका लागि १०/१२ टन धातु र खर्च लाग्ने भएकाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको उनले बताए । अहिलेसम्म भीमदत्त नगरपालिकाले १ करोड दिने प्रतिबद्धता जनाएको र ५० लाख मात्रै प्राप्त भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि ५० लाख उपलब्ध गराएको छ । संघीय सरकारबाट पनि ५० लाख प्राप्त भए पनि अझै सहयोग आवश्यक पर्ने उनले बताए ।

( कान्तिपुर दैनिक )

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.