Fast Nepal News

गाडी किन्‍नै साढे २ अर्ब

banner single news

मोरङ — ५ पुस २०७८

मोरङ , प्रदेश १ सरकारले सवारी साधनका लागि गत आर्थिक वर्षसम्ममा २ अर्ब १२ करोड ६८ लाख १३ रुपैयाँ खर्च गर्‍यो । यो वर्ष फेरि ५४ करोड १६ लाख ४८ हजार रुपैयाँ खर्च गर्दै छ । प्रदेश सरकारले आफैंले ल्याएको सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता निर्देशिका उल्लंघन गर्दै महँगा र विलासी गाडी खरिद, इन्धन, मर्मत र विमा तथा नवीकरणमा उक्त रकम खर्च गरेको हो । निर्देशकाले मुख्यमन्त्रीलाई १ करोड, सभामुख, मन्त्री र प्रमुख सचिवलाई ७५ लाख, उपसभामुख, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, मुख्य न्यायाधिवक्ता, प्रदेश सचिवलाई ६५ लाख, महाशाखा र कार्यालय प्रमुखलाई ४५ लाख मूल्य बराबरको गाडी खरिद गर्न पाउने व्यवस्था गरेको छ । तर तत्कालीन मुख्यमन्त्री शेरधन राईले निर्देशिका मिच्दै ३ करोड १९ लाख ७३ हजारको टोयटा प्राडो र सभामुख प्रदिपकुमार भण्डारीले १ करोड ३६ लाख ९० हजारको इसुजु मक्स गाडी खरिद गरेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ करोड ७ लाख ५० हजार दरको निसानको गाडी खरिद गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ करोड ७९ लाख ५० हजारको निसानको पेट्रोल गाडी खरिद गरेको छ । मन्त्रालयका सचिवहरूका लागि पनि १ करोडभन्दा बढी मूल्यका महँगा गाडी किनिएका छन् । सवारी साधन खरिदमा प्रदेश सरकारले आर्थिक वर्ष ०७४/७५ मा ६ करोड २९ लाख, ०७५/७६ मा ५५ करोड ६८ लाख ७२ हजार, ०७६/७७ मा ५५ करोड र ०७७/७८ मा ४८ करोड ५० लाख ५५ हजार गरी १ अर्ब ६५ करोड ४९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षमा सवारी साधन खरिद गर्न २९ करोड २७ लाख २४ हजार विनियोजन गरिएको छ । इन्धनमा आर्थिक वर्ष ०७४/७५ मा ४० लाख १९ हजार, ०७५/७६ मा ३ करोड ५६ लाख ३१ हजार, ०७६/७७ मा ९ करोड ५२ लाख १४ हजार र ०७७/७८ मा ११ करोड १७ लाख ५ हजार गरी २४ करोड ६५ लाख ६९ हजार खर्च भएको छ ।

Inside Article Ads

इन्धनका लागि चालु आर्थिक वर्षमा १२ करोड २३ लाख ८३ हजार रुपैया विनियोजन गरिएको छ । प्रदेश सरकारले सवारी साधन मर्मतका लागि आर्थिक वर्ष ०७४/७५ मा ५३ लाख ४१ हजार, ०७५/७६ मा ३ करोड ५३ लाख १३ हजार, ०७६/७७ मा ५ करोड ४३ लाख ९५ हजार र ०७७/७८ मा ७ करोड ६६ लाख ९४ हजार गरी १७ करोड १७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो । त्यही शीर्षकका लागि चालु आर्थिक वर्षमा १० करोड ७ लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ । सवारी साधनको बिमा तथा नवीकरणमा गत आर्थिक वर्षसम्ममा ५ करोड ३६ लाख ९५ हजार खर्च भएको थियो । यो वर्ष त्यसका लागि २ करोड ५८ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थविद् वेदराज आचार्यले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्ने बेला भड्किलो र प्रचारात्मक शैलीको काम गरिरहेको बताए । ‘प्रदेश सरकारले सरल र साधारण तरिकाले आर्थिक अनुशासन पालना गर्दै कम लगानीमा बढी प्रतिफल आउने योजनालाई प्राथमिकता दिनुपर्ने हो,’ उनले भने । अर्थविद् भेषप्रसाद धमलाले अहिले प्रदेशलाई आत्मनिर्भर बनाउन स्रोत व्यवस्थापन नै प्रमुख विषय हुनुपर्ने बताए । ‘अनुदानमा आश्रित प्रदेशमा सरकारले मुठी कसेर अनुत्पादक क्षेत्रको बजेट कटौति गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भने । आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले अहिले बजेट पुनरावलोकन गरेर अनुत्पादक क्षेत्रमा भएको बजेट कटौतीमा लागेको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले अनुत्पादक क्षेत्रको बजेट कटौती र प्रदेशको आयस्रोत वृद्धिका लागि अध्ययन भइरहेको जानकारी दिए ।   
( कान्तिपुर दैनिक )
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.