Fast Nepal News

कांग्रेसमा युवा पुस्ताको उदय

banner single news

काठमाडौँ — २ पुस २०७८

काठमाडौँ , सभापतिपछिको मुख्य कार्यकारी पदमा युवा नेतृत्व आएपछि प्रश्न उब्जिएको छ– अब कांग्रेसको रूपान्तरण कसरी होला ? सभापति शेरबहादुर देउवाको परम्परावादी सोच र शैली बदल्न उनीहरू सफल होलान् ? यी प्रश्नको जवाफ दिने जिम्मा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको छ । कांग्रेसको राजनीतिक सिद्धान्तमा आधारित मूल्य–मान्यतालाई मजबुत गरी मुलुकको हितमा पार्टी नीति कार्यान्वयन गर्ने अहम् जिम्मेवारी उनीहरूसामु छ । पार्टी रूपान्तरणको पक्षमा तल्लो पंक्तिदेखि नै उठ्दै आएको ठूलो आवाजलाई महाधिवेशनले अनुमोदन गरेको छ । पार्टीलाई समयअनुसार रूपान्तरण गरी कामकाजी बनाउनुपर्ने युवा पुस्ताको प्रमुख माग हो । पटक–पटक सरकारको नेतृत्व गरे पनि कमजोर प्रदर्शन गरेको कांग्रेसले अब मुलुकको समृद्धिका लागि खेल्ने भूमिका महत्त्वपूर्ण हुनेछ । त्यो काम युवा नेतृत्वले गर्नुपर्नेछ । सनातनी ढंगले चल्दै आएको कांग्रेसमा परिवर्तनको आवेगलाई युवा नेतृत्वले सम्बोधन गर्नुपर्ने विश्लेषक हरि शर्माले बताए । गगन–विश्वप्रकाशको छलाङले अनुहार मात्रै नभएर पार्टीको एजेन्डालाई पनि पुस्तान्तरण गराएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा राजनीति गरेर लोकप्रिय हुने बाटो उनीहरूका लागि अब काम नलाग्ने उनको भनाइ छ । ‘यथार्थ र ठोस राजनीति गर्नुपर्ने ठाउँमा धनराज, गगन र विश्वप्रकाश आइपुगेका छन्,’ शर्मा भन्छन्, ‘२०६२/६३ को आन्दोलनबाट उदाएकाले परिवर्तनलाई बोक्न र स्वामित्व लिन सक्ने पुस्ता हो यो । संघीयता, गणतन्त्र र समावेशिताको प्रतिनिधित्व गर्न सक्ने पुस्ता हो । यसले समाजको अवस्था, गतिलाई बुझेर नेतृत्व दिन सक्छ भन्ने प्रमाणित गर्ने ठाउँमा उनीहरू आइपुगेका छन् ।’ महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा थापाले सुनिने र देखिने कांग्रेस बनाउने र आगामी निर्वाचनसम्म १०/१५ लाख नयाँ मतदाता जोड्ने संकल्प सुनाएका थिए । करिब त्यस्तै संकल्प अर्का महामन्त्री शर्माले पनि गरेका थिए । नेविसंघको राजनीतिबाट सँगै उदाएका यी दुई युवा नेताका लागि आफैंले अघि सारेका पार्टी पुनर्जागरण र रूपान्तरणका मुद्दालाई अघि बढाउन अघिल्लो पुस्ताका नेतृत्व र त्यसपछिको दोस्रो पुस्तासँग अघि बढाएर सहकार्य र संघर्ष दुवै गर्नुपर्ने अवस्था खडा छ ।

हिजो प्रश्न गर्ने ठाउँमा थिए, आज जवाफ दिने ठाउँमा उनीहरू आइपुगेका छन् । विश्लेषक पुरञ्जन आचार्य नेतृत्वमा पहिलो पुस्ता रहे पनि त्यसपछिका मुख्य कार्यकारी पदमा युवाकै बाहुल्य रहेकाले अबको कांग्रेस यथास्थिति र पुरातन विचार चिरेर अघि बढ्ने विश्वास गर्छन् । ‘नेतृत्वमा युवाको द्वार खुलेको छ, पार्टीका नीति र कार्यक्रममा पनि हस्तक्षेप हुन्छ, परिवर्तनको आवेगलाई चाहेर पनि रोक्न नसक्ने ठाउँमा नेतृत्व आइपुगेको छ,’ उनले भने, ‘बूढो र रोगी भनिँदै आएको कांग्रेस १४ औं महाधिवेशनले स्वस्थ र तन्नेरी पार्टीका रूपमा रूपान्तरण भएको छ ।’ गुरुङ, थापा र शर्मालाई यो स्थानमा ल्याइपुर्‍याउनुका पछाडि दस लाख क्रियाशील सदस्यको पृष्ठभूमि जोडिएको छ । कांग्रेसमा ४ लाख ७० हजार मात्रै क्रियाशील सदस्य थिए । यसैपटक बढाएर करिब साढे ९ लाख पुर्‍याइएको थियो । यसले सदस्यताको संख्या मात्रै बढाएन, एकैसाथ ठूलो संख्यामा युवा अनुहारको प्रवेश भयो । त्यसैको प्रभाव धनराज, गगन, विश्वप्रकाशलगायतका अनुहार हुन् । ‘केन्द्रमा आफ्नै अनुहार खोज्दा धनराज, गगन र विश्वप्रकाशमा आशा र भरोसा गरेको पाइयो,’ आचार्यले भने, ‘अब नेतृत्वलाई परिवर्तनको भावनासँग डोर्‍याएर अघि बढ्ने चुनौती थपिएको छ ।’ कांग्रेसलाई बदल्ने अभियानसँग जोडिएर आएका युवा नेतालाई पार्टी सञ्चालनको पुरानो कार्यशैली सच्याउनेदेखि पार्टीको बैठक कहाँ, कसरी सञ्चालन गर्नेबारेमा थिति बसाल्नै चुनौतीहुने देखिएको छ ।    

पार्टीका महत्त्वपूर्ण निर्णयहरूमा दुई/चार जना नेता बसेर निर्णय गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने पुरानै परम्परा कायम छ । अधिकांश समय पार्टीका बैठक बूढानीलकण्ठ र बालुवाटारबाट सञ्चालन भएका हुन्छन् । विधानमा व्यवस्था नभएको पदाधिकारीको बैठक चलाउने पद्धति परम्परा नै बनेको छ । पार्टीको सर्वोच्च निकाय केन्द्रीय कार्यसमिति पदाधिकारीले गर्ने निर्णयलाई अनुमोदन गराउने थलोका रूपमा परिणत भइरहेको छ । ‘विगतमा चर्को विरोध गर्दै आएका युवा अहिले नेतृत्व तहमा पुगेका छन्, उनीहरू आफैंले विरोध गरेका विगतका यस्ता अभ्यासलाई निरन्तरता दिन्छन् वा पार्टीलाई साँच्चै संस्थागत रूपमा अघि बढाउन सक्छन् ? अब उनीहरूको परीक्षाको घडी सुरु भएको छ,’ कांग्रेसका एक नेता भन्छन् । थापाले देउवालाई सभापतिमा निर्वाचित भएकै दिन बधाई दिँदै थिति बसाल्ने काममा आफूहरूको सहयोग हुने, नत्र संघर्ष गर्ने संकेत गरेका छन् । ‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्नु हुनेछ भन्ने अपेक्षा गर्दछु,’ थापाले बधाई सन्देशमा उल्लेख गरेका छन्, ‘समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणको मुद्दामा सहकार्य हुनेछ ।’

Inside Article Ads

अर्का महामन्त्री शर्माले पनि महामन्त्री निर्वाचित हुनासाथ पार्टी रूपान्तरण अभियान प्रारम्भ भएको उद्घोष गरे । ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगो नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो,’ उनको भनाइ थियो । नेतृत्वको चाहना र उनीहरूको गतिसँग मेल खाएन भने पार्टीभित्र द्वन्द्व बढ्न सक्ने अनुमान नेताहरूमा छ । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काबाहेक दोस्रो पुस्ताका अधिकांश नेताहरू प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कतिपय केन्द्रीय सदस्यको प्रतिस्पर्धामा सीमित छन् । दुःखद संयोग यसपटक जुर्‍यो, बीपी, गणेशमान र महेन्द्रनारायण निधि तीनै परिवारका सदस्य नेतृत्वको प्रतिस्पर्धाबाट पराजित भए । कांग्रेसको संगठनमा यी तीन परिवारको ठूलो छाप छ । उनीहरूको विरासतलाई समेत बेवास्ता गरेर जान सक्ने स्थितिमा नयाँ पुस्ता छैन । पराजित भए पनि पार्टीको ४० प्रतिशत हैसियतसहित शेखर कोइराला पार्टीभित्रको प्रतिपक्ष नेताका रूपमा उदाएका छन् । उनको भूमिका अझै बढेको छ तर गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण पुत्र विमलेन्द्र निधिको दायरा साँघुरिएको छ । अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुन नसकेपछि तटस्थ भूमिकामा रहँदै आएका छन् । शक्तिका दिग्विजयजस्तै ठानिएका विजय गच्छदार उपसभापतिबाट पराजित भएका छन् । सभापतिका सबैभन्दा विश्वासिला र निकट मानिने प्रकाशशरण महत महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । शेखरको टिमबाट महामन्त्री प्रतिस्पर्धा गरेका मीनेन्द्र रिजालले महामन्त्री पराजित भएपछि नैतिक रूपमा मन्त्रीबाट पनि राजीनामा दिएका छन् ।

भोटका आधारमा मूल्यांकन गरेर दोस्रो तहका नेतालाई बेवास्ता गरेर अघि बढ्ने हो भने पार्टी अर्को अतिवादमा फस्न सक्ने राजनीतिक विश्लेषकसमेत रहेका कांग्रेस नेता पुरुषोत्तम दाहालले बताए । पार्टीमा विद्यमान तीन वटा पुस्तालाई जोडेर गति अघि बढाउने दिशामा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्काको भूमिका अब महत्त्वपूर्ण हुने उनको ठम्याइ छ । ‘शेरबहादुरजी पुरानो पुस्ताको हुनुहुन्छ, उहाँको सोच र शैली अहिलेको पुस्तासँग नमिल्न सक्छ, पार्टी सञ्चालन गर्ने कुशलता पनि देखिन्न । दोस्रो पुस्ताको सोच र चिन्तनको धारलाई नयाँ पुस्तासँग जोड्न सकियो भने मात्रै कांग्रेस अघि बढ्न सक्छ,’ दाहालले भने, ‘गगन र विश्वप्रकाश भविष्यका कांग्रेसका पुँजी हुन् । अहिले उत्तेजनामा नआई यो पुस्ता जिम्मेवार ढंगले अघि बढ्न सक्नुपर्छ । पार्टीका यी तीन पुस्तालाई जोड्ने मध्यमार्गी भूमिका निर्वाह गर्ने ठाउँमा पूर्णबहादुरजी आइपुग्नुभएको छ ।’ विश्लेषक शर्माका अनुसार दुई महामन्त्रीकै बीचमा वरीयताको विषयले सम्बन्धमा फरकपन आउन सक्छ । ‘पार्टीको विधानले महामन्त्रीमा पहिलो र दोस्रो भनेको छैन । सभापतिले कामको विभाजन तोक्दा कसलाई के दिने भन्ने कुरा हुन्छ । त्यतिबेला कसको वरीयता के हुन्छ भन्न सकिन्न,’ उनले भने । कतिपय नेताहरूले विधानमा पदाधिकारी निर्वाचित हुने मात्रै प्रणाली राखेर सभापतिको हात बाँध्न खोजिएको बताउँदै अहिलेको नतिजाले काम गर्न झनै अप्ठ्यारो पर्ने बताएका छन् ।

देउवानिकट नेता श्याम घिमिरेले केन्द्रीय कार्यसमितिमा सभापति अल्पमतमा नपर्ने सुनिश्चितता भएकाले पनि काम गर्न अप्ठ्यारो नपर्ने बताए । सभापतिले पदाधिकारीमा नपाए पनि ३३ जना केन्द्र्रीय सदस्य मनोनयन गर्न पाउँछन् । ‘टिमबाटै पूर्णबहादुर खड्का उपसभापति निर्वाचित हुनुभएको छ, प्यानलमा नपरे पनि विश्वप्रकाश शेरबहादुर दाइसँगै काम गरेको महामन्त्री हुनुहुन्छ, यसले पनि उहाँलाई अप्ठ्यारो पर्ने मैले देख्दिनँ,’ घिमिरेले भने ।हिजो जसरी चलेको थियो, त्यसरी नै चल्छ भन्ने मनोविज्ञानबाट पार्टी सञ्चालन गर्दा साढे पाँच वर्षमा देउवाले समयमै पदाधिकारी नियुक्ति गर्न सकेनन् । महत्त्वपूर्ण विभागहरू महाधिवेशनको मुखमा आएर गठन गर्दा पार्टीभित्र विवाद चर्कियो । पार्टी नेतृत्वकै अनिच्छाले दर्जन बढी पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले अधिवेशन गर्न सकेका छैनन् । कतिपय भ्रातृ संस्था स्थापनाकालदेखि नै अधिवेशन नगराई तदर्थवादमा चल्दै आएका छन् । यी सबै कुरालाई अनदेखाजस्तै गरे पनि अब नेतृत्व सुन्नुपर्ने ठाउँमा आइपुगेको विश्लेषक शर्माले बताए । ‘देख्न नसक्ने हो भने सुन्न सक्नुपर्छ, सुन्ने धैर्य राख्नुपर्छ । संगठनको परिवर्तनमा युवाको कुरा सुन्न सक्ने धैर्य हुनुपर्छ । नेतृत्वको धैर्यता र युवाको जोस मिलाएर अघि बढ्न सकियो भने संगठनलाई धेरै माथि पुर्‍याउन सकिन्छ ।’

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.