Fast Nepal News

बढ्दै ओमिक्रोनको जोखिम

banner single news

काठमाडौँ — २ पुस २०७८

काठमाडौँ , भारतमा बिहीबारसम्म ७८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजधानी नयाँदिल्ली, महाराष्ट्र, गुजरात, केरला, चण्डीगढ, राजस्थान, आन्ध्रप्रदेश, कर्नाटक, पश्चिम बंगाल, तेलंगानामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको हो । भारतमा ‘ट्राभल हिस्ट्री’ नभएकामा समेत ओमिक्रोन देखिएकाले नेपालमा पनि यसको जोखिम बढ्दै गएको सरकारी अधिकारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपाल पनि संक्रमण विस्तारको जोखिममा रहेको बताए । खोपको उपलब्धतासँगै सबैले स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गरे मात्रै जोखिम कम गर्न सकिने उनको भनाइ छ । नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भए पनि उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

‘संक्रमण देखिएका दुई जना निको भइसकेका छन्,’ अधिकारीले भने । पूर्ण खोप लगाएको ६ महिनापछि शरीरमा एन्टिबडी कम हुँदै जाने भएकाले बुस्टर डोज अविलम्ब लगाउन विज्ञहरूले सुझाव दिइरहेका छन् । ‘मुलुकमा खोपको दुरवस्था, स्वास्थ्य सुरक्षा उपायमा कमीकमजोरीबीच ओमिक्रोन तेस्रो लहरको कारण बन्न सक्ने सम्भावना छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘पूर्ण खोप लिएकालाई बुस्टर खोप सुनिश्चित नगर्दासम्म ओमिक्रोनको डर कायमै रहन्छ ।’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह ओमिक्रोन कति खतरनाक छ भनेर तत्काल भन्न नसकिए पनि यसबारे थप अध्ययन र जानकारी आवश्यक हुने बताउँछन् । ‘हल्का बिरामी भए पनि ठूलो संख्यामा अस्पतालमा भर्ना गर्नुपर्ने खतरा हुन सक्छ,’ उनले भने ।

कुल जनसंख्याको ३८.७ प्रतिशत अर्थात् १ करोड १७ लाख ७० हजार १ सय ३४ जनाले एक डोज र ३१.२ प्रतिशत अर्थात् ९४ लाख ६८ हजार ४ सय ८९ जनाले पूर्ण डोज लगाएका छन् । खोप अभियान सुरु भएदेखि बिहीबारसम्म २ करोड १२ लाख ३८ हजार ६ सय २३ डोज खोप लगाइएको छ । हालसम्म ३ करोड ३२ लाख ९० हजार ३ सय ३० डोज खोप अनुदान र खरिदबाट प्राप्त भएको छ । अप्रिलसम्म थप करिब साढे ३ करोड आउने निश्चित भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा बढी गतिले फैलिरहेको छ । यस्तो अवस्थामा अस्पतालले विशेष तयारी गर्न पनि उसले सुझाव दिएको छ । डब्लूएचओले २६ नोभेम्बरमा ओमिक्रोनलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषित गरेको थियो । हालसम्म ओमिक्रोन नेपाल, भारतलगायत ७७ मुलुकमा फैलिसकेको छ । सोमबार मात्रै बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु भएको थियो ।

Inside Article Ads

बिरामी बढी गम्भीर नहुने : अध्ययन

डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भए पनि मानव स्वास्थ्यका लागि धेरै घातक नभएको अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ हङकङद्वारा जारी विज्ञप्तिअनुसार ओमिक्रोन संक्रमण भएको २४ घण्टाभित्र श्वास नलीमा त्यसको जीवाणु पाइएको छ । डेल्टा भेरिएन्टको दाँजोमा ओमिक्रोनले फोक्सोमा कम असर गर्ने पनि अध्ययनले देखाएको छ । ओमिक्रोनको जीवाणुबाट संक्रमित गम्भीर बिरामी हुने खतरा पनि कम छ ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.