Fast Nepal News

हात्तीसँग भिडेका ‘सिक्किमे साइँला’

banner single news

बाहुनडाँगी, झापा — २ पुस २०७८

बाहुनडाँगी, झापा, १५ वर्षअघिको कुरा हो, जतिबेला हात्तीको ठूलो झुन्ड मेची तरेर आउँथ्यो । अनि यो देहाती गाउँमा वितण्डा मच्चाउँथ्यो । हात्ती आतंकको पीडा अहिले पनि उही छ । कुनै बेला आमडाँगीका कमल राई हात्तीसँग भिडेका थिए । ५९ वर्षीय राईका किस्सा अहिले पनि गाउँमा चर्चित छ । समय अहिलेजस्तै थियो, मंसिर अन्तिम । राई ओछ्यानमा पल्टिएका मात्रै थिए । घर मस्तिर छिमेकमा ‘हात्ती आयो हात्ती’ भन्दै होहल्ला मच्चिइरहेको थियो । उनी जुरुक्क उठेर पञ्चकन्या टोलतिर दौडिए । जहाँ मेची नदी तरेर आएको एक्ले हात्तीले छिमेकीको धानको कुन्यु सखाप पारिसकेको थियो । कमलले गर्न सक्ने केही थिएन, अरूजस्तै रमिते बन्नुबाहेक । यिनी उभिएको ठाउँ र हात्ती भएको दूरी खासै नजिक थिएन । त्यही भएर हात्ती आउँदैन भनेर ढुक्कले उभिएर रमिता हेरिरहेका थिए ।अचानक कसैले हात्तीको खुट्टामा आगोको पुल्ठो फ्याँकेछ । हात्ती रिसाएर करायो, खेदौरे र रमिते दुवै तितरबितर भए । कमल पनि भाग्ने सुरमा थिए तर भाग्दै आएका एक जनाले उनलाई लडाइदिए । ‘लडेको ज्यान उठाउन के खोजेको थिएँ, हात्ती त मेरै अघिल्तिर पो आइसकेछ,’ कमलले त्यो क्षण सम्झिए, ‘जसरी भए नि यसले मार्ने नै हो भन्ने लाग्यो अनि आँट गरेर सुँडमा झुन्डिएँ ।’ सुँड समात्न सुरुमा डराए । तर, जसरी पनि ज्यान जाने नै हो भन्ने लागेपछि समातेर झुन्डिए । खस्रो र चिसो सुँडमा करिब ५ मिनेट जति यिनी झुन्डिरहे । गाउँले रमिते बने । हात्तीले फनफनी घुमाएर फुत्त फ्याँक्दा अलि पर खेतमा उनी बजारिए । ‘घुमाउँदा म गलेर हत्तु भएँ,’ कमलले थपे,

‘हात्ती पनि आत्तिएर करायो, मेरो दुवै कान बन्द भयो ।’ कमलको कान त बन्द भयो नै, खेतको आलीमा बजारिँदा मेरुदण्ड भाँचियो । पेटको आन्द्रा पनि चुँडियो । यति बिझ्याइँ गरेर हात्ती बाटो लाग्यो । अनि गाउँले जम्मा भए । मोटो शरीरका कमललाई चार जनाले पालैपालो बोकेर छिमेकी स्वास्थ्यकर्मीको घरसम्म पुर्‍याए । ‘स्वास्थ्यकर्मीले दिएको एउटा ट्याब्लेट र एक गिलास पानीसम्म खाएको थाहा छ,’ उनी भन्छन्, ‘त्यसपछि एकैचोटि अस्पतालमा मात्रै होस आएछ ।’ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २९ दिन सघनसँगै करिब डेढ महिना लामो उपचारपछि कमल घर फर्किएका थिए । त्यो बेला वन्यजन्तुवाट हुने क्षतिको राहत सहयोग निर्देशिका थिएन । २०६९ मा निर्देशिका जारी भएपछि मात्रै हात्ती प्रभावितहरूले राहत पाउन थालेका हुन् । डेढ महिना अस्पताल बस्दा ५ कट्ठा जमिन बेच्नुपर्‍यो । ‘नम्बरी जग्गा उपचार गर्दा सकियो,’ भने, ‘ऐलानी जग्गामा बस्छु, काम गर्न सक्दिनँ, सुत्यो खायो ।’ २० को दशकमा भारतको सिक्किमबाट आएर बसेका यिनी गाउँमा हात्तीसँग लड्ने ‘सिक्किमे साइँला’ भनेर चिनिन्छन् । जिल्ला वन कार्यालय झापाका अनुसार झापामा धान बाली भित्र्याउने समयमा हात्ती आतंक सुरु हुन्छ । अहिले पनि जिल्लाका विभिन्न ठाउँमा हात्तीले दुःख दिइरहेको छ । ‘धान खान आएको हात्तीलाई गाउँलेले बिच्क्याउँदा आक्रोशित भएर वितण्डा मच्चाउने गरेको छ,’ हात्तीविज्ञ डा.नरेन्द्र प्रधान भन्छन्, ‘हात्तीलाई जति बिच्क्याइन्छ, त्यति नै बढी आक्रामक बन्छ ।’

Inside Article Ads

झापामा करिब दर्जनको संख्यामा रैथाने हात्ती छन् । जलथल, चारआली, मागुरमाडी हुँदै दमकसम्म पुगेर ताण्डव गर्ने यिनै रैथाने हुन् । भारतबाट आउने हात्तीले भने राजमार्ग उत्तरको बाहुनडाँगी, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर आदि क्षेत्रमा आतंक मच्चाउँदै आएका छन् । विज्ञहरूका अनुसार झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र आसपासका केही गाविसहरू हात्तीको ‘करिडोर’ भएकाले हात्ती समस्या समाधान हुन नसकेको हो । यो जैविक मार्गमा परापूर्वकालदेखि हात्ती आवतजावत गर्ने गरेको पाइएको छ । भारतको असम, बंगाल हुँदै नेपाल भित्रिएका हात्ती कोसीटप्पुसम्म पुग्ने गरेको विभिन्न अध्ययनहरूबाट खुलेको छ । हात्ती हिँड्ने बाटोमा विस्तारै बस्ती बाक्लिँदै गएपछि समस्या भएको विज्ञहरूको भनाइ छ । वन कार्यालय झापाको तथ्यांकअनुसार हात्ती आक्रमणबाट १० वर्षमा ५० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । विभिन्न बहानामा २० बढी हात्ती पनि मारिएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.