Fast Nepal News

७२ हजार भूकम्पपीडितको अनुदान रोकियो

banner single news

काठमाडौँ — १ पुस २०७८

काठमाडौँ , सरकारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको कार्यावधि आगामी पुस १० मा सकिँदै छ । कार्यावधिको अन्तिमतिर प्राधिकरणले गत मंसिर २१–२३ सम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो र पुनर्निर्माणको प्रगति प्रस्तुत गर्‍यो । पुनर्निर्माणको काम नसकिँदै जिम्मेवारी हस्तान्तरण र प्रगति सुनाउन प्राधिकरण लागिपर्दा भूकम्पपीडित भने सबै प्रक्रिया पूरा गरेर पनि अनुदान रकम नपाएको दुःखेसो सुनाउन वडादेखि केन्द्र धाइरहेका छन् । ऋण गरेर घर ठड्याएका पीडितले गत साउनदेखि किस्ता रकम पाएका छैनन् । पहिलो, दोस्रो र तेस्रो किस्ता नपाउनेको संख्या ७२ हजार ७ सय ३ छ । यसैमध्येमा पर्छन्, धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका ६३ वर्षीय तेजबहादुर भण्डारी । वडा कार्यालयले भूकम्प प्रभावितको सूचीमा नाम परेको भन्दै उनलाई घर बनाउन सुझाव दिए । गत साउनमा निर्माण सके । तर दोस्रो र तेस्रो किस्ताको रकम अहिलेसम्म पाउन सकेका छैनन् ।

‘वडा कार्यालयमार्फत जिल्लामा रकम आए/नआएको बारे बुझ्न लगाएँ, तर रकम आएकै रैनछ,’ उनले भने, ‘त्यसपछि काठमाडौंमै बुझ्न आएको हुँ । भवन निर्माण विभाग जाँदा पुनर्निर्माण प्राधिकरण जानू भन्छन् । प्राधिकरण जाँदा सबै काम भवन विभागबाट हुन्छ भन्दै फर्काइदिन्छन् ।’ अनुदान रकमबारे बुझ्न काठमाडौं आएका उनले मंगलबार र बुधबार दिनभर विभाग र प्राधिकरण धाउँदैमा बिताए । तर उनको प्रश्नको जवाफ कतैबाट मिलेन । ‘साढे २ लाख रुपैयाँ लिनु छ । घर बनाएको प्रमाणको रूपमा फोटो, रातो किताब, वडा कार्यालयको सिफारिस बोकेर आउँदा पनि रकम पाउने/नपाउनेबारे केही थाहा पाउन सकिनँ,’ उनले निराशा पोखे, ‘वाक्क/दिक्क भएँ । अब यही रकमबारे बुझ्न फेरि को काठमाडौं आउँछ र ?’ सुरुमा उनको नाम पूर्ण लाभग्राही सूचीमा थिएन । वडा कार्यालयको सल्लाहअनुसार गुनासो महाशाखामा लाभग्राहीमै नाम राखिदिन भन्दै निवेदन दिए । ‘घर पूरै भत्किएको हो तर प्रवलीकरणको कार्ड बनाइदिएपछि फेरि गुनासो महाशाखामा नाम टिपाएर प्रभावितमै नाम राख्न भनेको छु,’ उनले भने, ‘वडाले प्रक्रिया पूरा भएको जनाए पनि अहिलेसम्म नाम नै आएकै छैन ।’

यता गोरखामा मात्र ऋण गरेर घर बनाएका झन्डै २ हजार भूकम्पपीडितले रकम पाउन सकेका छैनन् । पालुङटार नगरपालिका–२ आँपपीपलस्थित रिपगाउँका मीनबहादुर सारुले १० लाख रुपैयाँ खर्चेर दुईकोठे घर बनाए । गत भदौमा नयाँ घरमा उनी सरिसके । तर अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । ‘आफूसँग भएको रकमले घर बनाउन पुगेन । ४ लाख ऋण गरेर घर बनाएँ,’ उनले भने, ‘किस्ता आउला भन्ने आशले ब्याज तिर्ने गरी ऋण गरी घर बनाएँ, अहिले ऋणको न साँवा तिर्न सकिएको छ, न ब्याज नै ।’ ऋण दिने व्यक्तिले रकम फिर्ता गर्न ताकेता सुरु गरिसकेको उनले सुनाए । समस्या उनको मात्र होइन, भूकम्प प्रभावित ३२ जिल्लाकै पीडितले साउनदेखि किस्ता रकम पाउन सकेका छैनन् । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का उपनिर्देशक झप्परसिंह विश्वकर्माका अनुसार बेलैमा अर्थ मन्त्रालयबाट रकम स्वीकृत नहुँदा किस्ता रकम वितरणमा ढिलाइ भएको हो । ‘अर्थ मन्त्रालयबाट सोमबार रकम स्वीकृत भएर आउनासाथ मंगलबारबाट सम्बन्धित कार्यालयहरूमा रकम पठाइसकिएको छ,’ उनले भने, ‘साउनदेखि रोकिएको रकम वितरण सुरु गरेका छौं ।’

Inside Article Ads

अर्थबाट ३ अर्ब ७० करोड रुपैयाँ रकम स्वीकृत भएर आएको उनले जनाए । उनका अनुसार पहिलो किस्ताको रकम पाउन बाँकी लाभग्राहीको संख्या ५ हजार २ सय ८६ छ । यसैगरी, २३ हजार ५ सय ९२ जनाले दोस्रो किस्ता र ४३ हजार ८ सय २५ जनाले तेस्रो किस्ताको रकम पाएका छैनन् । प्रवलीकरणतर्फ पहिलो किस्ता लिन २ हजार ७ सय २५ जना र दोस्रो किस्ता लिन ८ हजार २ सय ७५ लाभग्राहीले बाँकी छ । प्रवलीकरणतर्फ पहिलो र दोस्रो किस्ताका रूपमा ५०/५० हजार रुपैयाँ दिने व्यवस्था छ । भूकम्प गएको साढे ६ वर्षमा ७५ प्रतिशत मात्र निजी आवास निर्माणको काम सकिएको छ । १७ प्रतिशत निर्माणका क्रममा रहेको प्राधिकरणले जनाएको छ । लाभग्राही सूचीमा रहेकाको संख्या ८ लाख ६६ हजार २ सय ७ छ । यसमध्ये ८ लाख २७ हजार ३ सय ४० जनाले मात्र अनुदान सम्झौता गरेका छन् । ३८ हजार ८ सय ६७ जनाले अझै सम्झौता गरेका छैनन् ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.