
सर्लाही — १ पुस २०७८
सर्लाही , विद्युत् सट भई घरमा आगो लाग्दा सर्लाहीको सिर्सियामा बुधवार राति दुई बालिकाको जलेर मृत्यु भएको छ । कविलासी नगरपालिका–७ सिर्सियास्थित जोगी महरा चमारको फुसले छाएको घरमा बुधबार राति ९ बजेर १५ मिनेटमा विद्युत् सट भएर आगलागी भएको थियो । घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा महराको ८ वर्षकी छोरी लक्ष्मी कुमारी र वर्ष ३ की सोगन्धी कुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते भएपछि प्रहरीले जिल्ला अस्पताल पुर्याएका थिए ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा ज्यान गएको प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार महराकी अर्की ५ वर्षीया छोरी सुधा कुमारीको स्थानीय क्लिनिकमा समान्य उपचारपछि घर फिरेकी छन् । घरमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरीले झन्डै आधा घण्टापछि नियन्त्रणमा लिएको थियो । आगलागीमा परेर महराको घरसहित लत्ताकपडा, भाँडाबर्तन समेत जल्दा झन्डै ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
( कान्तिपुर दैनिक )
