Fast Nepal News

ओलीलाई दाहालको चुनौती : ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्नूस् नत्र माफी माग्नूस्

banner single news

काठमाडौँ — १ पुस २०७८

काठमाडौँ , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् । बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति  भएको दाबी गरेका थिए । उक्त दाबीको खण्डन गर्दै दाहालले बिहीबार प्रेस वक्तव्य जारी गरेका छन् । दाहालले ओलीको आरोप खण्डन गर्दै भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’ दाहालले ओलीलाई उक्त ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न पनि चुनौती दिएका छन् । साथै प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ । दाहालले अगाडि भनेका छन्, ‘म के. पी. ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

त्यस्तै कुनै सेयरकारोबारीले चन्दा नदिएपछि बजार ध्वस्त पारिदिएको भन्ने ओलीको आरोपलाई पनि दाहालले नकारेका छन् । उनले भनेका छन्, ‘मार्क्स्वाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’ लगानीकर्ताको हितका पक्षमा आफू रहेको उल्लेख गर्दै दाहालले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।

Inside Article Ads

दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’ एमाले अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा दाहालसँगको सहमतिमै तत्कालीन राजा ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाएको बताएका थिए । ओलीले उक्त सहमतिबारे दाहाल र पूर्वराजा ज्ञानेन्द्रले बोल्नुपर्ने बताएका थिए । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्‍यो कि प्रचण्डले भन्नुपर्‍यो । कसका विरुद्ध सहमति भएको थियो ?’         

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.