
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ , कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी रहेका विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई सघाउने बताएका छन् । अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जालमार्फत देउवालाई समर्थन गरेको घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ ! पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’
देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको सिंहले बताएका छन् । समर्थनबारे जानकारी दिँदै उनले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’ सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।
( कान्तिपुर दैनिक )
