
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ , चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा सफल भएका २ हजार ५ सय ११ विद्यार्थीले एमबीबीएस नपढ्ने भएका छन् । छात्रवृत्तिमा पढ्न प्रवेश परीक्षा दिएका विद्यार्थीले त्यसमा छनोट हुन नसकेपछि एमबीबीएस नपढ्ने निर्णय गरेका हुन् । आयोगले तोकेको मेरिटमा अगाडि रहेका विद्यार्थी मेडिकल शिक्षाको चर्को शुल्कका कारण भर्ना नभएपछि मेरिटमा पछाडि भएकाले पढ्ने अवसर पाएका छन् । एमबीबीएस अध्ययनका लागि शिक्षण शुल्कमात्रै काठमाडौं उपत्यकाबाहिर ४४ लाख र उपत्यकाभित्र ४० लाख रुपैयाँ छ । यसबाहेक पनि शैक्षिक सामग्री, खाना/बस्नलगायतमा ५ वर्षसम्म निकै खर्च हुन्छ । आर्थिक अवस्था कमजोर रहेका जेहेन्दार छात्रछात्रा भर्ना नभएको आयोगका कर्मचारी र पदाधिकारीले बताएका छन् । ‘धेरै विद्यार्थीसँग बुझ्दा छात्रवृत्तिमा नाम निस्कन्छ कि भनेर परीक्षा दिएको बताए तर छात्रवृत्तिमा नाम ननिस्केपछि नपढ्ने निर्णय लिएको सुनाए,’ आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कान्तिपुरसँग भने । आयोगले पहिलो पटक सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा ४ हजार ३ सय ८९ जना एमबीबीएस अध्ययनका लागि उत्तीर्ण भएका थिए । तीमध्ये ४ हजार ३ सय ४६ जना मेरिट सूचीमा परेका थिए । देशभरका मेडिकल कलेजमा चालु शैक्षिक सत्रमा १ हजार ८ सय ३५ जनाले एमबीबीएस अध्ययन गर्न पाउने सिट निर्धारण गरिएको छ ।
आयोगले सोमबार एमबीबीएससहित स्नातक तह चिकित्सा शिक्षामा भर्नाको अन्तिम म्याचिङ गरेको छ । म्याचिङअनुसार एमबीबीएस पढ्न योग्यता पुगेकामध्ये २ हजार ५ सय ११ जना भर्ना भएनन् भने प्रवेश परीक्षा उत्तीर्णमध्ये मेरिटमा पछाडि रहेका ४३ जनाले भर्ना हुन पाएनन् । भर्नाका क्रममा सबै मेडिकल कलेजले एमबीबीएसमा तोकिएको सिटअनुसार विद्यार्थी पाएका छन् । मेरिटअनुसार सबै भर्ना भएका भए २ हजार मेरिटभित्रका विद्यार्थीले नै मेडिकल कलेजको सिट भरिन्थ्यो । करिब ११ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । प्रवेश परीक्षामा सफल भए पनि भर्ना नहुने विद्यार्थीको संख्या धेरै रहेकाले अन्तिम मेरिटसम्म परेका विद्यार्थीले समेत अध्ययन गर्ने अवसर पाएको उपाध्यक्ष गिरीले जनाए । पास भएर भर्ना नहुनेमध्ये केही विद्यार्थीचाहिँ एमबीबीएस अध्ययनका लागि विदेशसमेत गएका छन् । आगामी प्रवेश परीक्षाको नतिजा नआउँदासम्म अध्ययनका लागि विदेश जान पाउने हुँदा बाहिर जाने विद्यार्थीको संख्या यकिन छैन । बढीमा ५ सय विद्यार्थी एमबीबीएस अध्ययन गर्न अन्य मुलुक जाने अनुमान छ । रोजेको मेडिकल कलेजमा भर्ना नपाउँदा पढाइ छाड्ने विद्यार्थीको संख्या थोरै छ । चालु शैक्षिक सत्रमा छात्रवृत्ति कोटामा नाम ननिस्केपछि तीमध्ये धेरै विद्यार्थी आगामी शैक्षिक सत्रको प्रवेश परीक्षाको प्रतीक्षामा बसेको आयोगको अनुमान छ ।
मेरिटक्रम २ हजार ५ सय आसपासमा प्रवेश परीक्षा उत्तीर्ण गरेका एक छात्रले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण यस पटक एमबीबीएसमा भर्ना नभएको सुनाए । ‘छात्रवृत्तिमा नाम निस्कन्छ कि भनेर प्रवेश परीक्षा दिएको थिएँ तर छात्रवृत्ति पाइएन,’ उनले भने, ‘राम्रो तयारी गरेर आगामी वर्ष फेरि प्रवेश परीक्षा दिने तयारीमा छु ।’ वीरगन्जका छात्र निलेश साहले चितवन मेडिकल कलेजमा भर्ना पाउने भएका थिए तर उनले छात्रवृत्ति नपाएसम्म चिकित्सा शिक्षा नपढ्ने निधो गरेको सुनाए । ‘मेडिकल शिक्षा महँगो पनि छ, मेरो रहर छात्रवृत्तिमा नै पढ्ने हो,’ उनले भने, ‘अर्को पटक फेरि कोसिस गर्छु ।’ चिकित्सा शिक्षा ऐनका मस्यौदाकार रहेका चिकित्सक डा. अर्जुन कार्कीले आर्थिक दृष्टिकोणले नै मेरिटमा परेका विद्यार्थी पनि भर्ना नहुने अवस्था रहेको जनाए । ‘सबैको घरमा पैसा हुँदैन, त्यसैले पनि सकेसम्म छात्रवृत्तिमा जाने कोसिस गर्ने विद्यार्थी धेरै हुन्छन्,’ उनले भने । त्यही कारण पनि ऐनमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए ।
आगामी शैक्षिक सत्रका लागि पुस महिनाभित्रै प्रवेश परीक्षाको आवेदन माग गर्ने तयारी आयोगले गरेको छ । कक्षा १२ को नतिजा पनि दुई साताअघि सार्वजनिक भइसकेको छ । आयोगले चालु शैक्षिक सत्रको स्नातक तहको चिकित्सा शिक्षाका सबै विषयको अन्तिम म्याचिङ सोमबार सम्पन्न गरेको हो । स्नातक तहमा एमबीबीएस, बीडीए, नर्सिङलगायत मेडिकल शिक्षाको विषय अध्ययन गर्न सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत, विदेशी लगानीको शिक्षण संस्थामा २० प्रतिशत र निजी शिक्षण संस्थामा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था चिकित्सा शिक्षा ऐनले गरेको छ । एमबीबीएस बीडीएसलगायत विषयमा मेडिकल कलेजले सिटअनुसार विद्यार्थी भर्ना पाए पनि बीएस्सी नर्सिङ, बीफार्मेसी, बीपीएच, बीएस्सी एमआईटी, बीएस्सी एमएलटीलगायत केही विषयको भने कोटा खाली भएका छन् । विद्यार्थीले ती विषयको प्रवेश परीक्षा नै उत्तीर्ण गर्न सकेनन् । नर्सिङका लागि १ हजार २ सय ४० विद्यार्थीको कोटा तोकिएको थियो तर ५ सय ४ जना मात्रै उत्तीर्ण भए । बीफार्मेसीमा ९ सय २ जनाको कोटामा ५ सय ४७ जनामात्रै उत्तीर्ण भएका थिए । बीपीएचमा १ हजार ४ सय २० जनाको कोटामा ५ सय ६५ जना मात्रै सफल भए । न्यून संख्यामा प्रवेश परीक्षा उत्तीर्ण भएका विषयमा आयोगले पठाएका छात्रवृत्ति कोटाका विद्यार्थीलाई मात्रै पठनपाठन गराउनुपरेको भन्दै मेडिकल कलेज सञ्चालकहरू असन्तुष्ट छन् ।
( कान्तिपुर दैनिक )
