
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ , कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका उनीहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिएका हुन् । अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणमा अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गरेका छन् । कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का भएका हुन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।
दोस्रो चरणमा सिंह, निधि र गुरुङले पनि देउवालाई नै समर्थन गरेपछि कोइरालामाथि दबाब परेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् । आफूविरुद्ध बाँकी सबै उम्मेदवार एकताबद्ध भएपछि कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएर रणनीतिक छलफल थालेका छन् । मंगलबार बिहान सिंह र निधिसँग आफूलाई समर्थन गर्न आग्रह गरेका कोइरालाले त्यसलगत्तै अबको चुनावी रणनीतिबारे निकटका नेताहरूसँग छलफल गरेका छन् । कोइरालाले उच्च मनोबलका साथ चुनावमा जाने तयारी गरेको एक नेताले बताए । ‘हामीले उठाएको एजेन्डा परिवर्तनका लागि हो, त्यहीकारण हामीविरुद्ध सबै जना एक भएका छन्, यसको मतलब हामी कमजोर छैनौँ, बरु झन् बलियो भएका छौँ,’ आफूनिकटहरूसँग कोइरालाले भनेको उदृत गर्दै एक नेताले भने, ‘हामी उच्च मनोबलका साथ चुनावमै जान्छौँ ।’ ती नेताले कोइरालाले पुनः प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको जानकारी दिए ।
सम्बन्धित समाचार
- कमीकमजोरी सच्याउँछु भनेकाले देउवालाई समर्थन दिने निर्णय गरेँ : सिंह
- पराजित भए पनि प्रकाशमान उभिएको ठाउँमा उभिनु मेरो कर्तव्य : विश्वप्रकाश शर्मा
- निधिको पनि समर्थन देउवालाई ( कान्तिपुर दैनिक )
