Fast Nepal News

खेतमै सुक्न थाले उखु

banner single news

सर्लाही — २८ मंसिर २०७८

सर्लाही , उखु काट्ने बेला भइसक्दा पनि सरकारले मूल्य तय नगर्दा सर्लाहीका चिनी उद्योगहरू सञ्चालन हुन सकेका छैनन् । उद्योग नचल्दा उखु सुक्न थालेको किसानको गुनासो छ । बर्सेनि उखु काट्ने समय सुरु भएपछि मात्रै मूल्यका लागि बहस सुरु हुने गरेका कारण किसान मारमा पर्दै आएका हुन् । कतिपयले उखु खेतमा सुकाउनुभन्दा आधा मूल्यमा सक्खर बनाउने उद्योगमा बिक्री गर्छन् । विगतमा मंसिर पहिलो सातातिर चिनी उद्योग सञ्चालनमा आउने गरेको थियो । केही वर्षयता मूल्यमा हुने किचलोका कारण उद्योगीले समयमै उद्योग चलाउने गरेका छैनन् । किसानले बढी मूल्य खोज्ने र उद्योगीले बढी नाफा खोज्ने गरेकाले पछिल्लो समय उखुको मूल्य तोक्न कठिनाइ भइरहेको छ । केही वर्षयता सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै उखुको मूल्य विवाद मिलाउँदै आएको छ ।

मूल्य विवादकै कारण यस वर्ष पनि जिल्लाका चिनी उद्योग सञ्चालनमा नआएका हुन् । यता किसानलाई भने गहुँ तथा दलहन बाली लगाउन ढिलो हुने हुँदा उखु बेचेर खेत खाली गर्न हतारिएका छन् । अन्तिम खुट्टी उखु बेचेर गहुँ खेती गर्ने तयारीमा रहेका कविलासी नगरपालिका–१ पिपरियाका किसान रवीन्द्र रायले समयमै चिनी उद्योग सञ्चालनमा नआएकाले उखु बिक्री गर्न नसकिएको गुनासो पोखे । ‘अब मिल सञ्चालन भएन भने हामीले दोहोरो क्षति व्यहोर्नुपर्छ । पहिलो खेतमा भएको उखु सुक्छ, दोस्रो हिउँदे बाली लगाउन पाउँदैनौं,’ उनले भने । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्यबारे सरकारले छलफलमा नै ढिलाइ गरेको बताए । कृषिमन्त्री महेन्द्र राय यादवले यस वर्षका लागि उखुको मूल्य तोक्न बल्ल छलफल अघि बढाएका छन् । मन्त्री यादवले बिहीबार किसान प्रतिनिधिहरूसँग छलफल गरेको मैनालीले जानकारी दिए ।

Inside Article Ads
छलफलमा आफूहरूले उखुको उत्पादन लागत निकै बढेकाले यस वर्ष उखुको प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ कायम गर्न माग गरेको उनले बताए । छलफलमा मन्त्रालयका अधिकारीहरू, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, किसान प्रतिनिधिसहित उखु उत्पादन हुने क्षेत्रका जनप्रतिनिधिहरू सहभागी थिए । मन्त्री यादवले उद्योगीसँग पनि छलफल गरी संयुक्त रूपमा बैठक बसेर उखुको नयाँ मूल्य कायम गरिने बताएको मैनालीले जानकारी दिए । ‘कृषिमन्त्रीले हामीलाई उखुको मूल्य निर्धारणका लागि छलफलमा बोलाउनु भएको थियो, लागत बढिरहेकाले मूल्य बढाउन माग गरेका छौं,’ उनले भने, ‘उद्योगी र किसानको संयुक्त रूपमा हुने छलफलमा नयाँ मूल्य कायम गरिने जानकारी दिनुभएको छ, यता समयमा उद्योग नचल्दा खुट्टी उखु सुक्न थालेको छ ।’ पाँच वर्षअघि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम भएको थियो । जसमध्ये उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानस्वरूप ६५ रुपैयाँ २८ पैसा दिँदै आएको छ । त्यसयता उखुको मूल्य बढ्न सकेको छैन । तीन वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै धेरै उखु खेती हुने जिल्लामध्ये एक हो । यहाँ यस वर्ष २० हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ ।          

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.