
काठमाडौँ — २८ मंसिर २०७८
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणको मत परिणाम अनुसार नजितेपछि सुरुमा गृहमन्त्री बालकृष्ण खाँणमार्फत् सन्देश पठाए । त्यसपछि आफैं प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । उनी जानुभन्दा अघि नै शेखर कोइराला पनि चाक्सीबारी पुगेका थिए । उता विमलेन्द्र निधिले सिंहलाई फोन गरेर कोइरालालाई सघाउन आग्रह गरेका छन् । कांग्रेस सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएपछि सभापतिका प्रत्यासी देउवा र कोइरालाको नजर चाक्सीबारीतिर केन्द्रित भएको छ । सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । देउवा र कोइराला दुवैले सिंहलाई आफ्नो पक्षमा पार्ने प्रयास थालेका हुन् । आफ्नो पक्षमा बहुमत जुटाउन नेताहरूको दौडधुप सुरू भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् । देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई बिहानै सिंह निवास पठाएर आफ्नो सन्देश पठाएका छन् । उनले खाँणमार्फत् सिंहलाई आफूलाई सघाउने प्रस्ताव पठाएका हुन् । खाँण बाहिर निस्किने बित्तिकै देउवाका अर्का विश्वासपात्र वीरबहादुर बलायर चाक्सीबारी पुगेका थिए । बलायरले पनि देउवालाई सभापतिमा जिताउन आग्रह गरे । सभापतिका अर्का प्रत्यासी कोइराला भने आफैं चाक्सीबारी पुगेका थिए । सिंह–कोइरालाबीच वान टु वान वार्ता भएको छ ।
त्यस्तै, सभापतिका अर्का प्रत्यासी निधिले पनि सिंहलाई फोन गरेर सल्लाह गरेका छन् । निधिले यसअघि दोस्रो चरणमा देउवाइत्तर नेताहरूबीच एकता हुने र देउवालाई पराजित गर्ने आफूहरूको रणनीति रहेको भनेका थिए । सहयोग माग्न बिहान सबेरै पुगेका नेताहरूलाई सिंहले आफूले टिममा सल्लाह गरेर मात्रै निर्णय सुनाउने बताएका थिए । ‘सबैले आफ्नो कुरा राखिरहनुभएको छ, तर उहाँले कुनै निर्णय सुनाउनुभएको छैन,’ सिंहनिकट स्रोत भन्छ, ‘टिममा छलफल भएपछि मात्रै निष्कर्षमा पुग्छौं ।’ सिंहले अहिले आफूले कसलाई सघाउने भन्नेबारे कुनै निर्णय नगरेको जनाएका छन् । तर, दोस्रो चरणमा सिंह, निधि र गुरुङको मत निर्णायक हुने निश्चित छ । देउवाले अहिले प्राप्त गरेको मतको आधारमा उनलाई अब जित्नका लागि ८७ मतको कमी भएको थियो । तर, कोइरालालाई जित निकाल्नका लागि देउवाइत्तरमा बृहत्तर एकता आवश्यक पर्छ । कोइरालानिकट एक नेताले भने देउवाइत्तर एकताका लागि आफूहरूले प्रयास गरिरहेको बताए । ‘हामी छलफलमै छौं, नेतृत्व परिवर्तनका पक्षमा एकदमै ठूलो माहोल छ । त्यसैले हामी जित्छौं भनेर ढुक्क छौं,’ उनले भने । कतिपय नेताहरूले भने संस्थापनइत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न नसकेर अलग्गिएका सिंह र कोइरालाको एकतालाई असम्भव समेत भनिरहेका छन् ।
तर, सिंह र कोइराला दुवै नेतृत्व परिवर्तनका पक्षमा रहेकाले सिंहले कोइरालालाई सघाउने आकलन गर्नेहरू समेत छन् । सिंहले सोमबार मतदानपछि आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए । संस्थापनइत्तर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता सिंह र कोइराला सभापतिका आकांक्षी थिए । कोइरालाले पौडेललाई साझा उम्मेदवार बनाउन सहमति दिएपछि सिंहले पौडेलका लागि नछोड्दा संस्थापनइत्तर पक्षबाट साझा उम्मेदवार तय हुन सकेन । जसकारण पौडेलले पार्टीको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरे । उनले पहिलो चरणको निर्वाचनमा मतदान समेत गरेनन् । पौडेलले कोइरालालाई मतदान गर्न सार्वजनिक आह्वान समेत गरेनन् । उनी आफू तटस्थ रहेको घोषणा गरे । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका महामन्त्री कोइरालाले समेत शेखरको पक्षमा भोट मागेनन् । दोस्रो चरणमा उनीहरूको भूमिकाले समेत प्रतिस्पर्धालाई प्रभावित पार्ने निकटतमहरू बताउँछन् । वरिष्ठ नेता पौडेलले भने मंगलबार बिहानै लैनचौरमा चियापान कार्यक्रम गरेका छन् । त्यहाँ चियापानमा सहभागी हुन गएका कार्यकर्ताहरूले पौडेललाई शेखरको पक्षमा उभिन आग्रह गर्दै नाराबाजी गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भएका थिए ।
( कान्तिपुर दैनिक )
