
बाँके — २६ मंसिर २०७८
बाँके , एकसुरले विद्यार्थी पढाइरहेकी गीता दियाली झस्किइन् । कक्षाकोठामा सुनिने गरी नानी रोएको आवाज आयो । उनी पढाउन छाडेर हतारिँदै अफिस पुगिन् । भुइँमा रोइरहेकी छोरीलाई काखमा राखिन् र दूध खुवाउन लागिन् । खेलौना दिइन् र पनि रुन नछोडेपछि छोरी बोकेरै उनी कक्षाकोठामा पसिन् । रोइरहेकी छोरीलाई उनी केहीबेर विद्यार्थीमाझ राख्थिन् त केहीबेर काखमा । तर छोरी शान्त नभएपछि उनले विद्यार्थीलाई ध्यानकेन्द्रित भएर पढाउन सकिनन् । नेपालगन्ज उपमहानगरस्थित घरबारी टोलको राष्ट्रिय माविकी शिक्षिका गीताले छोरी स्याहार्दै पढाउँदै गरेको एक वर्ष भयो । १४ महिनाकी छोरीलाई उनी आफूसँगै विद्यालय ल्याउँछिन् । झोलामा पुस्तकसँगै नानीका लागि लुगा, डाइपर, दूध, खेलौना पनि बोकेर आउँछिन् । कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा खासै समस्या नभए पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएपछि भने उनलाई बोझ थपिएको छ । श्रीमान्–श्रीमती दुवै जना जागिरे भएकाले परिवारमा छोरी हेर्ने कोही छैन । ‘त्यसकारण पनि छोरीलाई स्कुल ल्याउनुबाहेक अरू उपाय छैन,’ गीताले भनिन्, ‘यसैगरी ठूलो छोरो पनि हुर्काएँ ।’
( कान्तिपुर दैनिक )
