Fast Nepal News

कांग्रेस महाधिवेशनकाे तयारी तीव्र काठमाडौँमा १० हजार झण्डा राखिँदै

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन्

banner single news

२१ मंसिर, काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि मंगलबार सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको छ । आयोजक जिल्ला काठमाडौँमा मात्रै करीब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।

सचिव पुडासैनीका अनुसार,महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको जिम्मेवारी पाएका कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनी संयोजकत्वको उपसमितिले कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने छ ।

कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।यसैगरी मङ्सिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर २७ गते विहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

Inside Article Ads

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

यस महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करीब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

कांग्रेसको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारबाही प्रारम्भ गरेको छ ।

यसैगरी सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार समिति, काठमाडौं जिल्लाका पार्टी सभापतिको संयोजक र ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य रहने उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.