
काठमाडौँ — ५ मंसिर २०७८
काठमाडौँ , सरकारले आगामी आइतबारदेखि सातै प्रदेशमा कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क उपलब्ध गराउने भएको छ । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । रेबिजको विषाणुले सबैभन्दा पहिले स्नायु र त्यसपछि स्पाइनल कर्ड र मस्तिष्कमा असर गर्छ । रेबिज संक्रमण भएमा सुरुमा घाउको दुखाइसँगै ज्वरो आउँछ । त्यसपछि शरीरमा असह्य पीडा हुनुका साथै बिरामीमा हावा, पानी र प्रकाशसँग तर्सिने जस्ता लक्षण देखिन्छ । त्यसपछि छटपटी बढ्ने र पक्षाघात पनि हुन सक्छ । त्यस्तो लक्षण देखिएको ७ देखि १० दिनभित्र बिरामीको ‘कार्डियो रेस्पिरेटरी एरेस्ट’ ले मृत्यु हुन्छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रदेश २ र वाग्मतीका दुई/दुई र बाँकी प्रदेशका एक–एक अस्पताल गरी ९ ठाउँमा इम्युनोग्लोबुलिन सुई निःशुल्क उपलब्ध हुने बताए ।
जसअनुसार प्रदेश १ मा कोसी अस्पताल विराटनगर, प्रदेश २ मा जनकपुर अस्पताल धनुषा, नारायणी अस्पताल वीरगन्ज, वाग्मती प्रदेशमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा बुटवलस्थित लुम्बिनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निःशुल्क इम्युनोग्लोबुलिन सेवा उपलब्ध हुनेछ । सन् २०३० सम्ममा कुकुरको टोकाइले हुने रेबिजबाट हुने मृत्युलाई शून्यमा पुर्याउने सरकारको लक्ष्यअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को नियमित कार्यक्रमअन्तर्गत खोप सेवालाई विस्तार गरिएको हो । रेबिजको जोखिम भएकालाई एन्टिरेबिज खोप र आवश्यक भएमा इम्युनोग्लोबुलिन दिनु अनिवार्य मानिन्छ । कुकुरलगायत जनावरले टोकेपछि पहिलो, तेस्रो र सातौं दिन एन्टिरेबिज सुई दिने गरिन्छ । घातक टोकाइ भएको अवस्थामा भने घाउको चारैतिर इम्युनोग्लोबिन सुई दिनुपर्ने हुन्छ । ईडीसीडीका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाका अनुसार इम्युनोग्लोबुलिनले शरीरलाई रेबिज संक्रमणविरुद्घ तुरुन्त प्रतिरोधक क्षमता विकास गर्न सघाउँछ । स्वास्थ्यकर्मीको परामर्शमा घाउ साबुनपानीले सफा गरेर समयमै एन्टिरेबिज खोपसँगै इम्युनोग्लोबुलिन सुई लगाए रेबिज संक्रमणबाट शतप्रतिशत बच्न सकिने उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )
