
काठमाडौँ — ३ मंसिर २०७८
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङको टोलीबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल–अमेरिका सम्बन्ध सन्तोषजनक रहेको उल्लेख गरेका थिए । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा ढिला भइरहेका बेला नेपाल–अमेरिका सम्बन्धमा यस्तो धारणा आएको हो । सहायक विदेश मन्त्री लु र उपसहायक विदेशमन्त्री किडरलिङ अमेरिकी राजदूत र्यान्डी बेरीलाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवा मुख्य–सचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल र प्रशासनिक सल्लाहकार पूर्वसचिव जनार्दन नेपालसहित उपस्थित थिए ।
( कान्तिपुर दैनिक )
