
काठमाडौँ — १ मंसिर २०७८
काठमाडौँ , कांग्रेस नेतृत्वका लागि संस्थापन र इतर दुवै खेमाका नेताले प्रतिस्पर्धामा उत्रने तयारी थालेका छन् । केन्द्रीय महाधिवेशन आउन तीन साता मात्रै बाँकी छँदा दुवै पक्षमा ‘प्यानल’ बनाउन दबाब बढेको छ । महाधिवेशन आउन करिब ३ साता मात्रै समय बाँकी छँदा पनि को कुन पदमा उठ्ने टुंगो नलाग्दा तयारी गर्न नपाएको गुनासो नेताहरूले गर्न थालेका छन् । सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो समूहको बैठकमा पार्टीको प्र्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सकिनासाथ पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको टिम बनाउने घोषणा गरेका छन् । उनले अहिलेसम्म आफैंलाई मात्रै केन्द्रमा राखेर तयारी अघि बढाएका छन् । टिमबाट पदाधिकारीमा को—को भिड्ने निश्चित हुन सकेको छैन । आसन्न महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित हुन्छन् । संस्थापनइतर पक्षमा सभापतिको उम्मेदवार नै सर्वसम्मत बनाउन सकस देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको उक्त समूहबाट सभापतिका लागि चार जनाको मुख्य दाबी छ ।
पार्टी र सत्ताको केन्द्रमा रहेका देउवासँग प्रतिस्पर्धा गर्न सहज नभएको भन्दै यस समूहले सभापतिको प्रतिस्पर्धामा एक जना मात्रै अघि सर्न समूहका अन्य नेताले दबाब दिँदै आएका छन् । सभापतिको दाबेदारै टुंगो नलागेकाले अन्य पदाधिकारीको प्यानल बनाउन कठिनाइ देखिएको छ । देउवासँग भिड्न यस पटक पनि वरिष्ठ नेता पौडेल आफैं तम्सिरहेका छन् । यस समूहबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि आकांक्षी छन् । अरूले आफूलाई सहजै नछाड्ने देखेपछि पौडेलले आफ्नो टिमको बैठकमा एक वर्षका लागि मात्रै सभापति बन्ने नयाँ प्रस्ताव राखेका छन् । सिंह र कोइरालाद्वयबीच सहमति बने आफूले छाडिदिने घोषणा पनि उनको छ । तीन जनाबीच सहमति नभए आफूलाई अभिभावक मानेर छाड्नुपर्ने प्रस्ताव उनले राखेका छन् । शनिबार आफ्नो टिमको बैठकमा पौडेलले आफू हुँदा पनि एक वर्षका लागि मात्रै सभापति बन्ने जनाएका हुन् । तीनै तहको निर्वाचन आफ्नो नेतृत्वमा गरेपछि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ ।
सहमहामन्त्री थप्न देउवा पक्षको प्रस्ताव
टिम व्यवस्थापनका लागि सभापति देउवापक्षीय नेताहरूले सहमहामन्त्री पद थप्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य मीन विश्वकर्मा र गोविन्द भट्टराईले एक महिलासहित तीन सहमहामन्त्री थप गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । विधानले समावेशी समूहबाट ८ सहमहामन्त्री हुने व्यवस्था गरेको छ । खुला समूहबाट नभएकाले तीन सहमहामन्त्री थप्नुपर्ने तर्क देउवा पक्षको छ । तर पौडेल पक्ष यसलाई स्विकार्ने पक्षमा छैन । आफ्नो टिम व्यवस्थापनका लागि सहमहामन्त्री थप्ने प्रस्ताव अघि सारेको भन्दै बैठकमै वरिष्ठ नेता पौडेल र उनको समूहका नेताले विरोध गरेका थिए ।
( कान्तिपुर दैनिक )
