
चितवन — २९ कात्तिक २०७८
चितवन , कोभिडको लहर घटेसँगै पर्यटकीय क्षेत्र सौराहामा चहलपहल बढेको छ । जंगल सफारीमा जाने पर्यटक बोकेर गाडी कुदाकुद गरिरहेका हुन्छन् । होटल परिसरमा मानिसको उपस्थिति बाक्लिएको छ । होटल सञ्चालक र कामदार व्यस्त छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी अचेल निकै बेफुर्सदिला भएका छन् । पर्यटक बढेका बेला एमालेको १० औं महाधिवेशनको बन्दसत्र पनि उनकै होटलमा हुँदै छ । ‘कोभिड सुस्ताएसँगै पर्यटक बढ्दा व्यस्त भइएको छ, गोष्ठी, सेमिनार र बिहेसम्मका कार्यक्रम आउन थालेका छन् । तीन/चार गतेसम्मलाई धमाधम कार्यक्रम छन् । १० गतेपछि त एमालेको बन्दसत्र हुने भएका कारण व्यवस्थापनका लागि दौडधुप चलेकै छ,’ उनले भने । बन्दसत्रमा अन्य कार्यक्रम धेरै लामो चल्ने छैन । नेतृत्व चयनका लागि मतदान मुख्य काम हुनेछ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सौराहादेखि पश्चिम नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन कार्यक्रममा नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक गरेर पाँच लाखभन्दा बढीलाई सहभागी गराउने एमालेको तयारी छ । बन्दसत्र नारायणगढदेखि लगभग २० किलोमिटर पर हुने भएका कारण व्यवस्थापनका लागि केन्द्रीय नेताहरू नै तयारीमा सौराहामा खटिएका छन् । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे महाधिवेशनको मूल व्यवस्थापन समितिका सहसंयोजक हुन् । केही दिनयता उनी चितवनमै छन् । आइतबार दिउँसो उनी सौराहामा बन्दसत्र स्थल सेभेन स्टार होटलमै भेटिए । जिल्लाका नेता–कार्यकर्तालाई आवश्यक निर्देशन दिँदै थिए । होटल सञ्चालक दुवाडीसँग पनि व्यवस्थापनबारे जानकारी लिइरहेका थिए । ‘५ गतेदेखि एउटा कार्यालय नै यहीं रहन्छ,’ फुर्सद भएपछि पाण्डेले भने ।
( कान्तिपुर दैनिक )
