
काठमाडौँ — २५ कात्तिक २०७८
काठमाडौँ , जनतालाई समृद्धिको सपना देखाउने सरकार र प्रमुख राजनीतिक दलहरुले विज्ञान र प्रविधिलाई महत्त्व नदिएको गुनासो एक अन्तरक्रियाका सहभागीले व्यक्त गरेका छन् । नोभेम्बर १० का दिन युनेस्कोको आह्वानमा मनाइँदै आएको विश्व विज्ञान दिवसको अवसरमा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सले जुममार्फत् आयोजना गरेको अन्तरक्रियामा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले विज्ञान र प्रविधि दलहरुको प्राथमिकतामा नरहेको विचार राखे । ‘वैज्ञानिक समुदायले बुझाउन नसकेर हो कि दलहरुभित्र कहिल्यै विज्ञान र प्रविधिका एजेन्डामाथि छलफल भएको मैले पाएको छैन,’ उनले भने, ‘मुलुकलाई साँच्चिकै विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हो भने सरकारले यस क्षेत्रमा लगानी बढाउनैपर्छ।’ विज्ञान र प्रविधिको समुचित विकासले नै विश्वका विभिन्न मुलुकले फड्को मारेको उदाहरण दिँदै सरकारले अहिलेलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आरएन्डडी) मा कम्तीमा पनि एक प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले आरएन्डडीका लागि एक प्रतिशत बजेट माग गरेर पठाए पनि त्यसलाई अर्थ मन्त्रालयले स्वीकृत नगरेकाले कार्यान्वयन नभएको स्पष्ट पारे । ‘बाहिरबाट हेर्दा मन्त्रालयले केही पनि गरेन भन्नेजस्तो देखिन्छ । तर, हामीले पठाएका आर्थिक तथा अन्य योजना अनुमोदन नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकायका प्रमुख डा. रविन्द्र ढकालले स्रोत–साधनको सीमितताले गर्दा नास्टले विज्ञान तथा प्रविधिसाग सम्बन्धित कामलाई व्यापकता दिन नसकेको उल्लेख गरे । ‘नास्टले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पछिल्ला दिनमा केही कामहरु गर्दै आएको छ । तर, त्यति मात्र पर्याप्त नभएकाले राज्यले नै यो क्षेत्रलाई विशेष प्राथमिकता राख्नुपर्छ,’ ढकालले भने ।
( कान्तिपुर दैनिक )
