
काठमाडौँ — २४ कात्तिक २०७८
काठमाडौँ , माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको मिति पुस ११–१३ का लागि यसअघि तोकिसकेको थियो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ । प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय भएको छ । बैठकले पाँचदलीय गठबन्धन समन्वय समितिमा पार्टीका तर्फबाट अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय पनि गरेको छ ।
