Fast Nepal News

धनतेरसमा बिक्यो ६१ करोड रुपैयाँको सुनचाँदी

banner single news

काठमाडौँ —  १७ कात्तिक २०७८

काठमाडौँ , गहना व्यवसायीका लागि महत्त्वपूर्ण मानिने धनतेरसको दिनमा ६१ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुन ५० किलो र २ हजार किलो चाँदी बिक्री भएको हो । ‘मंगलबार प्रतितोला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो । उक्त रेटको आधारमा एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ हुन्छ । ५० किलो सुनको करिब ४० करोड रुपैयाँ पर्छ,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘बिक्री सोचजस्तो राम्रो भयो ।’ महासंघले मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकेको थियो । उक्त रेट अनुसार एककिलो चाँदीको मूल्य १ लाख ७ हजार रुपैयाँ पर्छ । ‘२ हजार किलोको हिसाबले करिब २१ करोड ४० लाख रुपैयाँको बिक्री भएको देखिन्छ,’ उनले भने ।

व्यवसायीका अनुसार सुनभन्दा चाँदीको सिक्का बढी बिक्री हुन्छ । चाँदीको भाँडा, करुवा, प्लेटदेखि माना/पाथी बिक्री हुन्छ । कलस, कचौरा, दिया सबै प्रकारको माग बढ्ने व्यवसायीहरु बताउँछन् । धनतेरसका लागि सानो सिक्का भए पनि किन्ने र लक्ष्मीपूजाको दिन पूजा गर्ने प्रचलन छ । जसले गर्दा सुनचाँदीको गहना/सिक्का बिक्री हुनेमा व्यवसायीहरु आशावादी थिए । यसपटक कोभिड संक्रमण पनि घटेकाले व्यापार बढ्ने व्यवसायीहरु अनुमान गरेका थिए । ‘गत वर्षको तुलनामा सुनको मूल्य प्रतितोला ५/७ हजार नै घट्यो,’ शाक्यले भने, ‘जसले गर्दा पनि आकर्षण बढेको देखिन्छ ।’ महासंघका अनुसार गत वर्षको कात्तिकमा प्रतितोला सुनको मूल्य प्रतितोला ९५ हजारदेखि ९८ हजार २ सय रुपैयाँसम्म थियो । यसपटक कात्तिक १६ गतेको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । धनतेरस मुख्यतया भारतमा मनाइन्छ । बहुराष्ट्रिय कम्पनीका रुपमा भारतीय गहना व्यवसायी नेपाल आएपछि यहाँ पनि मनाइन्छ ।

Inside Article Ads

शाक्यका अनुसार सर्वसाधारणले आफ्नो क्षतमा अनुसार सुनचाँदीको गहना, मूर्ति, सिक्का खरिद गर्छन् । सुनचाँदीका गहना खरिद गर्न नसक्नेले तामाका भाँडाकुँडा किन्ने प्रचलन रहेको उनले बताए । दुबई, हङकङ, स्विजरल्यान्डबाट नेपालमा सुन आयात हुन्छ । ती सुन वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था राष्ट्र बैकले गरेको छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । कार्यविधि अनुसार बैंकबाट व्यवसायीले दिनको २० किलो मात्रै किन्न पाउँछन् । गत वर्ष कोभिडकै कारण दैनिक कोटा १० किलो मात्रै थियो । गत वैशाखबाट थप १० किलो बढाएर २० पुर्‍याइएको छ । तर, तिहारमा उक्त कोटा अपुग भएको महासंघले जनाएको छ । महासंघका अनुसार सुनचाँदीको बिक्री लक्ष्मीपूजाको दिनसम्म हुन्छ ।

( कान्तिपुर दैनिक )

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.