
बागलुङ — १६ कात्तिक २०७८
बागलुङ , कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक र गलुवा भकुण्डे सडक अबरुद्ध हुने गरी खसेको पहिरोले यातायातमा सास्ती छ । नजिकैका ३० घर जोखिममा परेका छन् ।पानी पर्दा र सुख्खा समयमा समेत निरन्तर पहिरो खस्ने अवस्थाले बागलुङ–१० को गलुवा बस्ती जोखिममा परेको हो । यहाँ तीन महिनासम्म सवारी आवागमन ठप्पै भयो । दशैंका लागि खुलेको अस्थायी सडकमा पनि जिप मात्रै गुड्छन् । गत चैतमा कालोपत्र भएपछि मालढुंगा कुश्मीसेरा सडकमा नियमित बससमेत चल्न थालेका थिए । पहिरोले यो सडकमा ठूला सवारी चल्नै नसक्ने भएको छ । ‘सवारीसाधन नचल्ने भएपछि मालढुंगादेखि दानाका बोरा बोकेर ल्याउन बाध्य छौं,’ स्थानीय कुखुरापालक किसान किरण मल्लले भने, ‘कुखुरा पनि बेच्न समस्या भएको छ ।’ बेच्ने कुखुरा र दाना बोकाएर लाने–ल्याउने गर्दा नोक्सानी व्यहोर्नुपरेको उनले गुनासो गरे । पहिरोले सयौं रोपनीको धानबाली पनि नष्ट भएको छ । पहिरो खसेपछि दर्जन बढी घरपरिवारको खेतबारी नष्ट भएको हो । उक्त सडक अबरुद्ध हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बलेवा क्षेत्रका बासिन्दाले निरन्तर सास्ती खेपिरहेका छन् । सडक डिभिजन कार्यालयले भने यस खण्डमा दिगो व्यवस्थापनका लागि योजना बनाएर बजेट माग गर्ने तयारी गरेको इन्जिनियर मुकुन्दप्रसाद लामिछानेले बताए । ‘सानोतिनो खर्चले सडक बन्दैन, पहिरो नियन्त्रण पनि हुँदैन,’ लामिछानेले भने, ‘मन्त्रालय तहको ध्यानाकर्षण गराएका छौं, अब छिट्टै सर्भे गरेर दिगो रूपमा काम गर्छौं ।’
गत असोजमा २० लाख रुपैयाँ खर्चेर अस्थायी ट्र्याक खोलिएको छ । ट्र्याक खुले पनि जिप मात्रै गुड्न सक्छन् । ‘जिपमा पनि धेरै सामान बोकेर जानै सकिँदैन, जोखिम छ,’ एक सवारी चालकले भने, ‘जतिबेला पनि ढुंगा खस्ने समस्या छ ।’ गतवर्ष यहाँ बिनासर्भे मुख्य सडकबाट खनिएको शाखा सडकले पहिरो निम्तेको स्थानीय वीरबहादुर थापाले बताए । ‘नेताहरूले जबरजस्ती आफ्नो जग्गा छोएर बाटो लैजान खोज्दा हाम्रो उठीबास हुने खतरा भएको छ,’ थापाले भने, ‘पहिरो चल्न थालेपछि घर छाडेर हिँड्नुपर्छ, कतिबेला दुर्घटना हुने हो थाहा छैन ।’ उनले भकुण्डेको बराहतालदेखि झरेको पानी व्यवस्थापन नगर्दा पहिरो हुँदै बगेकोले झनै जोखिम बढाएको बताए । भकुण्डेकै द्वार जाने अर्को सडक पनि तीन वर्षदेखि भासिएर जोखिम बढाएको छ । तित्याङको सिमलपाटादेखि द्वार जाने सडकसँगै बस्तीमा पनि भ्वाङ परेका छन् । सडक र खेत क्षतविक्षत बनेको छ । यहाँ झन्डै ५ सय मिटर सडक भासिएको छ । १५ रोपनी जमिन चिरा परेको र भ्वाङले खेतीपाती लगाउन पनि डराउनुपरेको स्थानीय देवी थापाले बताइन् ।
( कान्तिपुर दैनिक )
