
मकवानपुर — १६ कात्तिक २०७८
मकवानपुर , वाग्मती प्रदेशका मन्त्रालय तथा सरकारी कार्यालयहरूमा करोडौंको सवारीसाधन बेवारिसे अवस्थामा थन्किएका छन् । सम्बन्धित निकायले समयमै मर्मत तथा लिलाम नगर्दा ती सवारीसाधन बेवारिसे बनेका हुन् । हेटौंडास्थित प्रदेश सरकारका मन्त्रालयहरू, जिल्लाका सरकारी कार्यालयहरू र प्रहरी कार्यालयमा सरकारी ढुकुटीमा जम्मा हुन सक्ने करोडौंको मूल्यको सवारीसाधन कबाडी अवस्थामा राखिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा नै सयौं यस्ता सवारीसाधन वर्षौंदेखि थुप्रिएका छन् । प्रदेश सरकार बनेको साढे ३ वर्षमै पनि मन्त्रालयहरूमा ठूलो परिमाणमा सरकारी नम्बर प्लेटका र त्यसबाहेकका महँगा सवारीसाधन प्रयोगविहीन छन् । कतिपय त सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भए पनि त्यसतर्फ ध्यान दिइएको छैन । स्थानीय तहहरूले मर्मतसम्भार गरेर सञ्चालन गर्ने भन्दै मागे पनि प्रदेश सरकारले दिएको छैन ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ठूला सवारीसाधन खिया, माटो र झाडीले पुरिएका छन् । मन्त्रालय परिसरभित्र ट्र्याक्टरमा ल्याइएको काठसमेत नझारिकन वर्षौंदेखि यथास्थितिमा राखिएको छ । मन्त्रालयमा एक्स्काभेटर पनि बेवारिसे अवस्थामा छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा टोयोटा गाडी थन्किएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा समेत ठूला गाडीहरू अलपत्र छन् । अन्य मन्त्रालयको अवस्था पनि उस्तै छ । जिल्लास्थित सरकारी कार्यालयहरूमा पनि सरकारी नम्बर प्लेटका र अन्य गरी सबै खालका सवारीसाधन त्यसै मिल्किएका छन् । सवारीसाधन लिलाम गर्न मेकानिकल इन्जिनियरसहितको मूल्यांकन समिति बने पनि मूल्य निर्धारण गर्न समस्या हुने गरेको देखिन्छ । सवारी लिलाम गर्ने क्रममा सवारी किन्न इच्छुकसँग मूल्यमा समेत समस्या पर्ने गरेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । पुराना सवारीसाधन भएकाले मर्मत गर्नुपर्ने र कर तिर्नुपर्ने हुन्छ । तर, उचित मूल्य कायम गर्न नसकिँदा सवारीसाधन अलपत्र अवस्थामा रहेको हो ।
( कान्तिपुर दैनिक )
