
काठमाडौँ — १२ कात्तिक २०७८
काठमाडौँ, स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ । बिहान ११ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री देउवा नेतृत्वको टोली ग्लास्गो प्रस्थान गरेको हो । पाँचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण गर्न लागेका देउवासँगै ग्लास्गो जाने टोलीमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।
( कान्तिपुर दैनिक )
