Fast Nepal News

एमाले पालिका अधिवेशन : अधिकांशमा सर्वसम्मत, कतै अधिवेशन नै भएन

banner single news

पोखरा — ११ कात्तिक २०७८

पोखरा, नेकपा एमालेको मंगलबार सुरु पालिकास्तरीय अधिवेशनले अधिकांश स्थानीय तहको कमिटिमा सर्वसम्मत्रुपले नेतृत्व चयन गरिएको छ । केही पालिकामा भने अधिवेशनको उद्घाटन सत्रमात्रै भएको छ । केहीमा अधिवेशनै सुरु भएको छैन । लमजुङका ८ मध्ये ६ स्थानीय तहमा नेतृत्वसहित सिंगो गाउँ तथा नगर कमिटी सर्वसम्मत चयन भएका छन् । सुन्दरबजार नगरपालिकामा भने उपाध्यक्ष र सचिवबाहेक अध्यक्षसहित अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मर्स्याङ्दी गापामा बुधबारमात्रै अधिवेशन सुरु भयो । बेंसीसहर नगरमा राजकुमार विष्ट, मध्यनेपाल नगरको अध्यक्षमा योगेन्द्रनारायण शाह र सुन्दबजार नगर अध्यक्षमा भीमबहादुर गुरुङ दोहोरिएका छन् । राइनास नगर अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । दोर्दी गापामा युवराज अधिकारी, क्व्होलासोंथर गापामा नारायणबहादुर गुरुङ र दूधपोखरीको अध्यक्षमा धनबहादुर गुरुङ दोहोरिएका छन् । मनाङका ४ वटै पालिकामा अधिवेशन भएको छैन ।

म्याग्दीका ६ मध्य चार पालिकामा नेतृत्व सर्वसम्मत चयन भएका छन् । रघुगंगा गाउँपालिकामा दीपक कार्की, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र धवलागिरी गाउँपालिकामा होमबहादुर थापा अध्यक्ष चुनिएका छन् । सदरमुकाम रहेको बेनी नगरमा बेनीनगर अध्यक्षमा नारायण जिसी, चन्द्र केसी र राजकुमार थापा आकांक्षी देखिएपछि सहमति जुट्न सकेन । जिसी र केसी ओली प्यानलका हुन भने थापा १० बुँदे पक्षधर हुन् । बेनीमा अहिले अधिवेशन स्थगित छ । अन्नपूर्ण गाउँपालिकामा भने आयोजक कमिटीका अध्यक्ष खड्ग गिरी बिरामी भएकोले अधिवेशन मिती तोकिएको छैन । मुस्ताङका ५ मध्ये ३ पालिकामा पनि नेतृत्व चयन भएको छ । लोमन्थाङमा नीमा ढेन्डुक गुरुङ, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा रिन्जीनवाङ्दी विष्ट र घरपझोङ गाउँपालिकामा प्रदीप थकाली अध्यक्ष भएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका ४ पालिकामा अधिवेशन नै भएको छैन । प्रतिनिधि विवादका कारण फलेबास नगरपालिकाको अधिवेशन स्थगीत भएको छ । कुश्मा नगरपालिका, मोदी, महाशिला र बिहादी गाउँपालिकामा अधिवेशन शुरु नभएको हो । जलजलामा लालबहादुर अधिकारी र र पैयुं गाउँपालिकामा चोकलाल न्यौपाने अध्यक्ष भएका छन । एमाले पर्वतका उपसचिव गोबिन्द पहाडीले ४ पालिकामा तयारी नपुगेका कारण अधिवेशन नभएको बताए ।

बागलुङका ७ पालिकाको नेतृत्व टुंगो लागेको छ । तीन पालिकामा अधिवेशन भएको छैन । सबैमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जनाए । बागलुङ नगरमा धनबहादुर परियार, गलकोट नगरपालिकामा पूर्णबहादुर काउचा र ढोरपाटन नगरपालिकामा लक्ष्मण पुन अध्यक्ष चुनिए । काठेखोला गाउँपालिकामा डिलबहादुर कार्की, बडिगाड गाउँपालिकामा कमलराज आचार्य, ताराखोला गाउँपालिकामा ऋषिराम रोका, तमानखोलामा तारानाथ सिर्पाली अध्यक्ष चयन भएका हुन् ।

Inside Article Ads

बागलुङ नगरपालिकामा हालका अध्यक्ष धनबहादुर परियार र प्रेस चौतारीका सचिव रामकृष्ण शर्माबीच प्रतिस्पर्धा छ । पार्टीले मिलाउने प्रयास गरे पनि टुंगो नलागेको हो । जिल्लाका दस पालिकामध्ये मंगलबार ७ वटामा मात्रै अधिवेशन सुरु भएको थियो । जैमिनी नगरपालिका, निसीखोला र बरेङ गाउँपालिकामा भने तयारी नपुगेको भन्दै अधिवेसन भएन । गोरखाका ११ मध्ये ९ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएका छन् । चुमनुव्री र सहिद लखन गाउँपालिकाको अधिवेशन भने मंगलबार सुरु भएन । एमाले जिल्ला पार्टी कार्यालयका सचिव कृष्ण कुँवरले तयारी नपुगेकाले अधिवेशन हुन नसकेको बताए । गोरखा नगरमा देवीबहादुर बस्नेत, पालुङटार नगरमा वसन्तकुमार श्रेष्ठ, धार्चे गापामा शुकबहादुर घले गण्डकी गापामा विष्णु पन्त, सिरानचोक गापामा विराज गुरुङ, भीमसेन थापा गापामा सुजन सिंखडा, बारपाक सुलिकोट गापामा हरि बस्नेत, अजिरकोट गापामा लीलाबहादुर सुनार र आरुघाटमा मेनबहादुर अधिकारी अध्यक्ष चुनिए ।

स्याङ्जाका ११ मध्ये १० पालिकामा नेतृत्वको टुंगो लागेको छ । वालिङ नगरमा अध्यक्षमा दुई जना आकांक्षी भएपछि टुंगो नलागेको हो । तनहुँका १० मध्ये ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरमा वीरेन्द्रबहादुर अधिकारी, भानु नगरमा प्रेम राना, शुक्लागण्डकी नगर कमिटीमा मुक्ति तिमिल्सेना, भीमाद नगरमा इमान थापा अध्यक्ष चुनिए । आँबुखैरेनी गापामा मीना अधिकारी, बन्दीपुरमा सुरेन्द्र थापा अध्यक्ष भए । ऋषिङमा बिहीबार अधिवेशन हुँदै छ भने घिरिङ र म्याग्दे गाउँपालिकमा १५ गते, देवघाट गाउँपालिकामा १४ गते अधिवेशन गर्ने तयारी भएको नेकपा एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकालले जनाए । पूर्वी नवलपरासीका ८ मध्ये ४ वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन । मध्यबिन्दु नगरमा मधुविलास अधिकारी, हुप्सेकोट गापामा चेतन राना, बुलिङटार गापामा मानवीर पुलामी, बौदीकालीमा प्रकाश ओझा चुनिए । कावासोती र देवचुली नगरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । गैंडाकोट नगर र विनयी त्रिवेणी गापामा अधिवेशनै सुरु भएको छैन । कास्कीका ५ मध्ये मादी गापामा बालकृष्ण गुरुङ, अन्नपूर्णमा विवेक देवकोटा र रुपा गापामा सवाबक्स मियाँ अध्यक्षमा सर्वसम्मत भएका छन । पोखरा महानगर र माछापुच्छ्रे गापामा भने अध्यक्षमा क्रमशः ५ र ४ जनाको उम्मेदवारी परेपछि टुंगिएको छैन । महानगरमा धनबहादुर नेपाली, दिलीप पौडेल, तेजनारायण अधिकारी, दीपक पौडेल र हरिप्रसाद त्रिपाठीको उम्मेदवारी परेको छ । एमाले कास्की सचिव दामोदर बैरागीले पोखरामा निर्वाचन प्रक्रिया सुरु भएको र माछापुच्छ्रेमा बिहीबार प्रक्रिया अघि बढ्ने बताए ।

-(आश गुरुङ/लमजुङ, घनश्याम खड्का/म्याग्दी, अगन्धर तिवारी/पर्वत, प्रकाश बराल/बागलुङ र हरिराम उप्रेती/गोरखा, सम्झना रसाइली/तनहुँ, नवीन पौडेल/नवलपुर)

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.