
कात्तिक, काठमाडौं । १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् । मन्त्रिपरिषद भागवण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाब परेको हाे ।
सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं ।’
कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएसनले पनि राजीनामा मागेको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलेका अनुसार, ‘ उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन ।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गरी सोमबारको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको र न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेको बताएका छन् ।
सोमबार सर्वोच्च अदालतबाट एउटा मुद्दामा पनि न्याय निरुपण भएन । सोमबार इजलासमा बस्नुको साटो कार्यालय समय शुरु भएदेखि न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा छुट्टै छलफलमा बसेका थिए ।
